ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

नेकपाभित्रबाटै झलनाथको नयाँ वैचारिक मोर्चा: बृहत् वाम एकताका लागि १५ बुँदे घोषणापत्र जारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्रै रहेर सम्पूर्ण वामपन्थी शक्तिलाई वैज्ञानिक समाजवादको साझा कार्यदिशामा एकताबद्ध गर्ने लक्ष्यसहित ‘समाजवादी जागरण अभियान’ को औपचारिक घोषणा गरेका छन्।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको यस अभियानको पहिलो भेलाले समसामयिक राजनीति, जनजीविका र संगठन पुनर्गठनसम्बन्धी १५ बुँदे प्रस्तावसमेत पारित गरेको छ।

पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री खनालले मुलुकलाई विद्यमान संकटबाट पार लगाउन समाजवादतर्फ अग्रसर हुनुको विकल्प नरहेको बताएका थिए।

विज्ञापन

विभिन्न वामपन्थी घटकका नेताहरूसँगको गहन छलफलपछि यो वैचारिक बहस सुरु गरिएको उल्लेख गर्दै उनले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वर्तमान कठिनाइहरू चिर्दै वैज्ञानिक समाजवादको बाटोमा दृढतापूर्वक अघि बढ्न सार्वजनिक आग्रह गरे।

खनालको संयोजनमा सुरु भएको यस अभियानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष परियार तथा नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेललगायतका नेताहरूको सहभागिता रहेको छ।

अभियानले यो कुनै नयाँ वा अलग पार्टी नभई कम्युनिस्ट आन्दोलनभित्र मौलाएको दक्षिणपन्थी भड्काव र दलाल पुँजीवादी प्रवृत्तिका विरुद्ध नयाँ सिराबाट बहस चलाउने वैचारिक मोर्चा भएको प्रस्ट्याएको छ।

भेलाद्वारा पारित प्रस्तावमा कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ तथा हालै दिवंगत भएका नेता घनेन्द्र बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधानप्रदत्त जनअधिकारको रक्षा गर्ने प्रण गरिएको छ।

साथै, विभाजित अवस्थामा रहेका कम्युनिस्ट शक्तिहरूलाई विगतका कमजोरीको समीक्षा गर्दै ‘नेपाली विशेषताको समाजवाद’ को कार्यदिशामा आधारित एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र बृहत् वाम एकतामा जुट्न विशेष आह्वान गरिएको छ।

यसैगरी, राष्ट्रियता र सार्वभौमिकताको रक्षाका निम्ति कुनै पनि बाह्य हस्तक्षेपको विरोध गर्दै विगतका असमान सन्धि-सम्झौता पुनरवलोकन गर्न सरकारसँग माग गरिएको छ।

राजनीतिक परिवर्तनका बाबजुद जनताका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै सम्बोधन हुन नसकेको ठहर गर्दै भेलाले उत्पादनमुखी र प्रभावकारी नीति अविलम्ब कार्यान्वयनमा ल्याउन जोड दिएको छ।

प्रस्तावमा भोटेकोशी-त्रिशुली क्षेत्रको विनाशकारी बाढीको सन्दर्भ उठाउँदै विपद् जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री तथा विपद् प्रतिरोधी विकास नीतिको पुनरवलोकन गर्न आग्रह गरिएको छ।

विपद्पछिको उद्धार, राहत, पुनर्वास र पुनर्निर्माणलाई जनसहभागितामूलक बनाउन, स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको श्वेतपत्र सार्वजनिक गरी पारदर्शी लेखापरीक्षण गर्न र दक्षिण एसियाली मुलुकहरूसँग दिगो वातावरणीय सहकार्य अघि बढाउन माग गरिएको छ।

यसैगरी, श्रमिक र विद्यार्थीका ट्रेड युनियन अधिकारमाथिका नियन्त्रणकारी कदम फिर्ता लिन माग गर्दै भेलाले गत भदौ २३ गतेको जेन्जी आन्दोलनका जायज माग सम्बोधन गर्न र थुनामा रहेका युवालाई अविलम्ब रिहा गर्न आग्रह गरेको छ।

साथै, भदौ २४ गते देशका विभिन्न भागमा भएका हिंसात्मक घटना, तोडफोड र आगजनीको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक आयोग गठन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।