निर्वाचन आयोगले जनप्रतिनिधिलाई पदमुक्त गरेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधिविहीन बनेको छ। जनता समाजवादी पार्टी नेपालको सिफारिसमा दल परिवर्तन गरेको आरोपमा जनप्रतिनिधिहरू पदमुक्त भएपछि वडा जनप्रतिनिधिविहीन बनेको हो।
आयोगले बुधबार गरेको निर्णयअनुसार खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईसहित आठ जनप्रतिनिधिलाई पदमुक्त गरेको सूचनामा उल्लेख छ। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको सिफारिसका आधारमा खोटाङका आठसहित देशभरका १८ जनप्रतिनिधिको पद रिक्त गरिएको आयोगले जनाएको छ।
आयोगको निर्णयसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, महिला वडा सदस्य कल्पना राई, दलित महिला वडा सदस्य गीता विक तथा खुला वडा सदस्य रामधन राई र शहरमणि राई पदमुक्त भएका छन्। पाँचै जना जनप्रतिनिधिको पद रिक्त भएपछि वडा जनप्रतिनिधिविहीन बनेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

मेयर भट्टराईका अनुसार निर्वाचन आयोगको कारबाहीपछि वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधिको पद समाप्त भएको छ। जनप्रतिनिधिविहीन बनेको वडाको बाँकी कार्यकाल कसरी सञ्चालन गर्ने भन्ने विषय चुनौतीपूर्ण बनेको उनले बताए।
आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत रिक्त गरेको सूचनामा उल्लेख छ।
जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यकाल पूरा नहुँदै अर्को पार्टीमा प्रवेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पार्टीले उनीहरूलाई पदमुक्त गर्न आयोगसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा आयोगले पद रिक्त गर्ने निर्णय गरेको हो।
आयोगको निर्णयबाट सिराहाको लहान नगरपालिकाका उपप्रमुख रामचरित्र महतो, इलामको माङसेबुङ गाउँपालिकाका विनोदकुमार नेम्वाङ र खोटाङको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद पनि रिक्त भएको छ।
त्यसैगरी उदयपुरको लिमचुङबुङ गाउँपालिका–४ बलम्ताका वडाध्यक्ष छत्रबहादुर राई, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई, इलामको सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढालबहादुर गुरुङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडीलाल कौडरियाको पदसमेत रिक्त गरिएको छ।
पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबहादुर राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेल पनि पदमुक्त भएका छन्।
त्यस्तै, सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार महतोको पदसमेत रिक्त भएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।