ब्रेकिङ न्युज
विज्ञापन
समाज

दसैंको मुखमा तलब रोकिँदा गढीमाई नगरपालिकामा तालाबन्दी

दसैंजस्तो मुख्य चाडपर्व नजिकिँदासमेत लामो समयदेखि तलब नपाएपछि रौतहटको गढीमाई नगरपालिकाका करार कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका छन्।

रोकिएको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्दै कर्मचारीहरूले सोमबार नगरपालिका कार्यालयको कामकाज ठप्प पारेका हुन्।

नगरपालिकाले वडा कार्यालयमा कार्यरत कर्मचारीलाई तलब दिए पनि शिक्षा, स्वास्थ्य र कृषि लगायतका शाखामा कार्यरत करार कर्मचारीलाई तलब नदिएर विभेद गरेको पीडित पक्षको आरोप छ।

विज्ञापन

यसअघि पनि तलबकै माग राखेर करार कर्मचारीहरूले गत भदौमा करिब एक महिनासम्म नगरपालिकामा तालाबन्दी गरेका थिए।

त्यसबेला भएको सहमतिअनुसार समस्या समाधान नभएको र उल्टै कार्यपालिकाले करार कर्मचारीलाई २० प्रतिशत मात्र तलब दिने निर्णय गरेपछि विवाद पुनः बल्झिएको हो।

प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिमा गरिएको उक्त निर्णय आफूहरूलाई मान्य नहुने भन्दै कर्मचारीहरू पुन: आन्दोलनमा उत्रिएका हुन्।

गढीमाई नगरपालिकाको आर्थिक संकट करारमा मात्र सीमित छैन। नगरपालिकामा कार्यरत स्थायी कर्मचारीले समेत दसैंको मुखमा तलब पाउन सकेका छैनन्।

यता, आन्दोलनका कारण सेवा प्रवाह प्रभावित भइरहँदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पाण्डेय भने पछिल्लो १० दिनदेखि कार्यालय छाडेर राजधानी काठमाडौंमा छन्। प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुँदा दैनिक प्रशासनिक कामसमेत नराम्ररी प्रभावित भएको छ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने नगरपालिकाको खातामा पर्याप्त बजेट नभएकाले तलब भुक्तानी गर्न नसकिएको बताएका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयले नगरपालिकाको सहमतिविना करिब तीन करोड रुपैयाँ कटौती गरिदिएपछि आर्थिक संकट उत्पन्न भएको उनको दाबी छ।

उक्त रकम कटौती भएपछि काम गर्ने वातावरण नभएकाले आफू कार्यालयमा उपस्थित हुन नसकेको पाण्डेयको भनाइ छ। उनले आर्थिक समस्या समाधान नभएसम्म कर्मचारीलाई तलब खुवाउन कठिनाइ हुने संकेत गरेका छन्।

नियमित सेवा प्रवाह गर्दै आएका कर्मचारीले लामो समयदेखि तलब नपाउँदा दैनिक जीवनयापनमै समस्या उत्पन्न भएको बताएका छन्।

विशेषगरी शिक्षा, स्वास्थ्य र कृषि जस्ता प्रत्यक्ष नागरिकसँग जोडिएका शाखाका कर्मचारी आन्दोलित भएपछि नगरपालिकाको समग्र सेवा ठप्प हुने जोखिम बढेको छ।

समस्या थप जटिल बन्दै गएकाले जनप्रतिनिधि, प्रशासन र आन्दोलनरत कर्मचारीबीच तत्काल निकास खोजिनुपर्ने देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।