चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, चोरी–तस्करी, सडक दुर्घटना तथा भीड व्यवस्थापनलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
प्रदेशभरिका आठ वटै जिल्लामा ७ हजार २२९ प्रहरी जनशक्ति परिचालन गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको मधेश प्रदेश प्रहरी कार्यालका प्रहरी प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले बताएका छन्।
आगामी असोज २९ गतेदेखि चाडपर्व लक्षित सुरक्षा व्यवस्था लागू गर्दै मधेस प्रदेशका आठवटै जिल्लामा १ हजार ५११ वटा ड्युटी खटिने स्थान निर्धारण समेत गरिएको छ।

सबैभन्दा बढी जनशक्ति धनुषामा २ हजार ५९७ जना परिचालन गर्ने योजना छ। त्यसपछि बारामा ८७०, सप्तरीमा ८५७, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, सिरहामा ६५२ र पर्सामा ६६२ जना प्रहरी परिचालन हुने प्रवक्ता ढकालले बताए।
मोबाइलदेखि पैदल गस्ती र पिकेटसम्म
प्रहरीले सर्वजनिक गरेको सुरक्षा योजनामा नियमित प्रहरी परिचालनसँगै जिल्ला रिजर्भ, क्यूआरटी, स्ट्राइकिङ टोली, ट्राफिकसहितको चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती तथा शंकास्पद स्थानमा पिकेट राख्ने व्यवस्था गरिएको छ।
यसैगरी राजमार्गमा सुरक्षा गस्ती, यात्रु सहायता कक्ष, सीमा नाकामा चोरी–तस्करी नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा, बजार अनुगमन, क्राउड एन्ड सर्च, सभा–जुलुस तथा आकस्मिक सुरक्षाका लागि छुट्टाछुट्टै टोली परिचालन गरिने सुरक्षा योजनामा उल्लेख गरिएको छ।
विपद् प्रतिकार्य टोली समेत परिचालन गरिनेछ भने सीमा नाकामा सञ्चालन गरिएका हेल्प डेस्क मार्फत यात्रु तथा सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउने योजना प्रहरीको छ।
सीमा नाका र भीडभाडमा विशेष निगरानी
प्रहरीले भारत–नेपाल सीमा नाकामा चाडपर्वका बेला मानिसको आवतजावत अत्यधिक बढ्न सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा निगरानी बढाउने तयारी गरेको छ।
खुला सीमा प्रयोग गरी तस्करी तथा अवैध सामान ओसारपसार हुन सक्ने जोखिमलाई समेत योजनामा प्राथमिकतामा राखिएको छ।
त्यसैगरी दसैँ–तिहारका बेला धार्मिक स्थल, मेला, बजार तथा भीडभाड हुने स्थानमा चोरी, लुटपाट तथा हराउने घटनाको जोखिम बढ्न सक्ने भएकाले त्यस्ता स्थानमा थप सुरक्षा परिचालन गरिने सुरक्षा योजना उल्लेख छ।
प्रहरीले नदी तथा पोखरीमा हुने डुबान तथा डुब्ने घटना, भीडका कारण हुने दुर्घटना, सडक दुर्घटना तथा ट्राफिक जामलाई पनि सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।
पटका, जुवा–तासदेखि मादक पदार्थसम्म निगरानी
चाडपर्वका बेला पटका तथा आतिसबाजीबाट आगलागी, जुवा–तास तथा अवैध सट्टेबाजी बढ्ने सम्भावनालाई समेत प्रहरीले सुरक्षा योजनामा समेटेको छ। मादक पदार्थ सेवनका कारण झैझगडा, कुटपिट, घरेलु हिंसा तथा सार्वजनिक स्थानमा लुटपाट हुन सक्ने भन्दै त्यसतर्फ पनि निगरानी बढाउने प्रवक्ता ढकालले बताए।
तिहार, देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम र डीजेका कारण रातिको समयमा शान्ति–सुरक्षामा चुनौती आउन सक्ने भएकाले त्यस्ता गतिविधिमा समेत निगरानी राखिने प्रहरीको योजना छ। धार्मिक कार्यक्रम, जुलुस वा ध्वनि प्रयोगलाई लिएर स्थानीय विवाद तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने अवस्थालाई पनि प्रहरीले जोखिमका रूपमा पहिचान गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, विशेषगरी भीडमा हराउने तथा दुर्व्यवहारका घटना रोक्न पनि प्रहरी परिचालन गरिने योजनामा उल्लेख गरिएको छ। अवैध मदिरा, लागूऔषध तथा अन्य प्रतिबन्धित पदार्थको ओसारपसार नियन्त्रणलाई समेत चाडपर्व सुरक्षा योजनामा प्राथमिकता दिइएको छ।
त्यस्तै, कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर तनाव सिर्जना गर्ने गतिविधिमाथि समेत प्रहरीले निगरानी गर्ने जनाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले आफ्ना मातहतका जिल्लाहरूमा नियमित ड्युटीबाहेक कमाण्ड पोस्ट, संयुक्त गस्ती, सादा पोशाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमार्फत समेत सुरक्षा व्यवस्था मजबुत बनाइनेछ। चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई पूर्वानुमान गर्दै प्रहरी परिचालन र निगरानीलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।