ब्रेकिङ न्युज
विज्ञापन
समाज

तीन मुद्दामा धरौटी पाएका वडाध्यक्ष फेरी पक्राउ

रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–३ का वडा अध्यक्ष केशरमान विक फेरि विवादमा परेका छन्।

आफ्ना भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई कर्तव्य पालनमा बाधा पुर्‍याएको आरोपमा पक्राउ परेका विकमाथि यसअघि पनि अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका मुद्दा चलेको प्रहरी अभिलेख सार्वजनिक भएको छ। ती मुद्दामा उनी धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका–३ का गोपाल विक भन्ने वीरेन्द्र विकविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।

विज्ञापन

खोजीका क्रममा असोज २० गते बिहान करिब ९ बजे मुसिकोट नगरपालिका–१ स्थित कालिका मन्दिर नजिकको सडकमा वीरेन्द्र र उनका दाजु वडाध्यक्ष केशरमानलाई प्रहरीले फेला पारेको थियो।

प्रहरीका अनुसार वीरेन्द्रलाई आफूविरुद्ध जाहेरी परेको जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गर्ने क्रममा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद गरेका थिए।

त्यस क्रममा उनले अश्लील शब्द प्रयोग गरी गालीगलौज तथा धकेलाधकेल गरेको, आफ्ना भाइलाई प्रहरीको नियन्त्रणबाट भगाएको र ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि हातपात गर्नुका साथै कपडासमेत च्यातिदिएको प्रहरीको आरोप छ। सोही घटनापछि उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका विकलाई ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ६६ मा राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने क्रममा गैरकानुनी भेला रोक्ने, भंग गर्ने वा हूलदंगा रोक्ने काम गर्दा कसैले बाधा विरोध गर्न नहुने व्यवस्था छ।

यस्तो कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

वडाध्यक्षमाथि यसअघि पनि तीन मुद्दा

प्रहरी अभिलेखअनुसार वडाध्यक्ष विकविरुद्ध यसअघि तीन वटा मुद्दा दर्ता भएको देखिन्छ। २०७६ पुस ३ गते आठबिसकोट नगरपालिकाको जाहेरीका आधारमा उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो।

अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आदेशमा उनी १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए।

त्यसपछि २०७७ असार ५ गते अमृत बोहरासहितको जाहेरीमा विकविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको प्रहरी अभिलेखमा उल्लेख छ। उक्त मुद्दामा अनुसन्धानपछि रुकुम जिल्ला अदालतको आदेशमा उनी एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए।

त्यसैगरी २०७७ माघ ७ गते तारकबहादुर शाहीको जाहेरीमा उनीविरुद्ध पुनः अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालयको आदेशमा उनी २४ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरी अभिलेखमा उल्लेख छ।

यसरी पछिल्लो घटनासहित विकविरुद्ध अभद्र व्यवहारका दुई र ज्यान मार्ने उद्योगको एक गरी यसअघि तीन वटा मुद्दा चलेको प्रहरी विवरणले देखाएको छ। तर, ती मुद्दामा उनी दोषी ठहर भएको भन्ने अर्थमा नभई सम्बन्धित निकायको आदेशबाट धरौटीमा छुटेको विवरण मात्रै सार्वजनिक भएको हो।

वडाध्यक्ष विकलाई पक्राउ गरी हिरासतमा कुटपिट गरेको आरोप लगाएको छ। नेकपाले विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। उनी नेकपा निकट हुन्।

प्रहरीले भने हिरासतमा कुटपिट गरेको आरोप अस्वीकार गरेको छ। विवादमा दुवै पक्षबाट फरक–फरक दाबी सार्वजनिक भएकाले त्यसको यथार्थ अनुसन्धानबाट खुल्ने देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।