दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफले मधेश प्रदेशलाई पराजित गरेको छ।
एपिएफले मधेश प्रदेशलाई ३—१ गोल अन्तरले पराजित गरेको हो। मधेशले यसअघि सुदूरपश्चिमलाई जितेको थियो।
विभागीय टीम एपीएफका लागि खेलको ३० औं मिनेटमा युवराज खड्का र पहिलो हाफको अतिरिक्त समय ४७ औं मिनेटमा समुन श्रेष्ठ गोल गर्दै टोलीलाई २—०को स्थितिमा पुर्याएका थिए।

खेलको ९२ औं मिनेटमा मधेशका लागि दिपेन्द्र विकले १ गोल गरे पनि टोलीलाई जीत दिलाउन सकेनन्। २–१ ले अगाडि रहेको एपिएफ ९८ औं मिनेटमा डिसन राईले गोल गर्दै टोलीलाई ३—१ ले जीत दिलाउन सफल भए।
खेलको ६७ औं मिनेटमा मधेशका गोलरक्षक युनिस चौधरीले डि एरियाभन्दा बाहिर हातले बल छोएपछि रातोकार्ड खाएर मैदानबाट बाहिरिँदा मधेश १० खेलाडीमा सीमित भएको थियो।
एपिएफ सामु दबाबमा रहेको मधेशले थप गोल गर्न पटक–पटक अवसर पाए पनि जाली चुमाउन सकेन। सो खेलमा एपिएफका सन्तोष खत्री तथा मधेशका क्षितिज भण्डारी र हेमन्त भुजेलले पहेँलो कार्ड पाएका थिए।
आफ्नो समूहमा दुई खेल खेलेको मधेशले एकमा जित र एकमा हार व्यहोरेपछि एपिएफ र सुदूरपश्चिमबीचको खेलको नतिजाका आधारमा अर्को चरणमा जाने वा नजाने निर्भर रहने म्याच कमिसनर बीरेन्द्र पाण्डेले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।