डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को फाइनलमा पुगेको छ ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा आर्मीले पुलिसलाई १–० गोलमा हराउँदै उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग शनिबार खेल्ने छ । गतवर्षको फाइनलमा पुलिस र एपीएफबीच भएको खेलमा पुलिसले एपीएफलाई १–० गोलअन्तरमा हराउँदै उपाधि जिते पनि यस पटक सेमिफाइनलबाट बाहिरियो ।
निकै प्रतिस्पर्धात्म रहेको खेलमा आर्मीकी चन्द्रा भण्डारीले गरेको गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच आर्मीकी बिमला बिकले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।

खेलको ५१ औं मिनेटमा चन्द्राले गरेको प्रहार नै खेलमा निर्णायक बन्यो । बिमला चौधरीको प्रहार पुलिसकी गोलकिपर उषा नाथबाट रिबाउन्स भएपछि चन्द्राले गोल गरेकी थिइन् । खेलको ४४ औं मिनेटमा आर्मीकी चन्द्राले गरेको प्रहार पुलिसकी गोलकिपर उषा नाथले मुस्किलले बचाइन् । ४९ औं मिनेटमा बिमला चौधरीको प्रहार पुलिसकी गोलकिपरले विफल बनाइन् । खेलको ८ औं मिनेटमा पुलिसकी रेखा पौडेलको प्रहार आर्मीकी गोलकिपर कविता बिकले पञ्च गरेर बचाइन् ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।