ब्रेकिङ न्युज
विज्ञापन
समाज

तीनकुने घटना: ‘छतमा चढेकै छैनौं’ भनेको प्रहरीले छतबाटै मञ्चमा अश्रुग्यास हानेको पुष्टि

तीनकुनेमा भएको हिंसात्मक झडपपछि तत्कालीन समयमा नेपाल प्रहरीले दिएका स्पष्टीकरण र सफाइहरूलाई राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले तथ्यसहित उल्ट्याइदिएको छ।

झडपलगत्तै नेपाल प्रहरीले पत्रकार सम्मेलन गरेर सुरक्षाकर्मी घरको छतमा नचढेको, मञ्चतर्फ आकाशबाट ग्यास खसेको जस्तो मात्र देखिएको र सर्वसाधारणलाई ‘झुक्किएर’ गोली लागेको जस्ता दाबी गरेको थियो।

तर, आयोगको अनुसन्धानले भने प्रहरीको उक्त दाबीलाई खण्डन गर्दै कमान्डरहरूमाथि नै विभागीय कारबाही सिफारिस गरेको छ।

विज्ञापन

प्रहरीको दाबी : छतमा पुगेकै छैनौं, आकाशतर्फ हान्दा मञ्चमा खसेको देखियो

तत्कालीन समयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डीआईजी दिनेशकुमार आचार्यले पत्रकार सम्मेलनमा प्रहरी ‘कम्फर्टेबल जोन’ मा नहुँदा अश्रुग्यास अन्यत्र पुगेको बताएका थिए।

त्यसबेला डीआईजी आचार्यले भनेका थिए- ‘तीनकुने प्रदर्शनका क्रममा प्रहरी ‘कम्फर्टेबल जोन’ मा थिएन। प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गरिराखेका थिए। सोही क्रममा अश्रुग्यास प्रहार गर्दा मञ्चसम्म पनि पुगेको हुन सक्छ। प्रहरी कसैको घरको छतमा पुगेको छैन। छतबाट ग्यास पनि प्रहार भएको छैन। यस्तो बेला ग्यास आकाशतर्फ प्रहार गर्नुपर्छ। फरक ठाउँमा बसेकाहरूले सोही ग्यास माथिबाट खसेझैँ देखेका हुन्। अन्यथा केही होइन।’

आयोगको प्रतिवेदनको तथ्य: छतबाटै मञ्चमा सिधै अश्रुग्यास प्रहार

प्रहरी प्रवक्ताको यो दाबीलाई आयोगको प्रतिवेदनले पूर्णतः झुटो साबित गरेको छ। आयोगको प्रतिवेदनको प्रकरण १४ मा प्रस्ट भनिएको छ, ‘आयोगको सदस्यसहितको टोलीले गरेको अनुगमनबाट सुरक्षाकर्मीले घरको छतबाट कार्यक्रमस्थलमा रहेको मञ्चमा अश्रुग्यास प्रहार गरेको भनी प्रतिवेदनमा उल्लेख गरेको देखिन्छ। सभास्थलमा अश्रुग्यास प्रहार गरेपश्चात प्रदर्शनकारीहरूको भीड थप उत्तेजित बन्न गएको समेत देखिन्छ। तथापि उक्त अश्रुग्यास कार्यक्रमस्थल बिथोल्न थियो वा अराजक भीडलाई तितरबितर गर्न लक्षित थियो भनी खुल्न आएको देखिएन।’

प्रहरीको दाबी: राष्ट्रिय गानको भिडियो ‘डिपफेक’, ७४६ सेल ग्यास प्रहार

त्यसबेला कार्यक्रम नै सुरु नहुँदै प्रदर्शनकारी ढुङ्गामुढामा उत्रिएको दाबी प्रहरीले गरेको थियो। राष्ट्रिय गान बजिरहेका बेला प्रहरीले अश्रुग्यास हानेको भिडियो बाहिरिएपछि डीआईजी आचार्यले त्यसलाई ‘डिपफेक’ भन्दै प्रतिप्रश्न गरेका थिए, ‘कार्यक्रम नै सुरु भएको छैन भने राष्ट्रिय गान कसरी सुरु हुन्छ ?’

यसबारे नेपाल तथ्य जाँच गरेको जाँचमा प्रहरीले गरेको ‘डिपफेक’ दाबी भ्रामक रहेको पुष्टि गरेको थियो। यस अलावा उक्त प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास ७४६ सेल, ब्ल्याङ्क राउन्ड १९२, पेस्तोल दुई राउन्ड र प्लास्टिकको गोली ५८ राउन्ड प्रहार भएको आधिकारिक विवरण दिएको थियो।

तर, आयोगले भने सुरक्षाकर्मीसँग पर्याप्त स्रोतसाधन नभएको र लामो समयदेखि खरिद नगरिएका म्याद गुज्रिएका अश्रुग्यासका सेलहरू अत्यधिक प्रयोग गर्दा भीड झन् उग्र बनेको ठहर गरेको छ।

प्रहरीको दाबी : रेविकालाई ‘झुक्किएर’ गोली लाग्यो

भाटभटेनी सुपरमार्केटमा भएको लुटपाट नियन्त्रण गर्ने क्रममा कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी रेविका खत्री र उनका दाजु दिनेश खत्रीलाई ‘झुक्किएर’ गोली लागेको दाबी प्रहरीको थियो।

जडीबुटीस्थित खाद्य गोदामबाट कोटेश्वरस्थित डेरामा फर्कने क्रममा रेविकाको खुट्टामा गोली र उनका दाजु दिनेशलाई छर्रा लागेको थियो। उनीहरूको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गरिएको थियो।

प्रवक्ता आचार्यले भनेका थिए, ‘सुपरमार्केटमा लुटपाट भयो। नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्‍यो। त्यही क्रममा रेविकालाई प्रहरीको गोली लागेको हुनुपर्छ।’

आयोगको प्रतिवेदन: निर्दोषमाथि गोली चलाउने कमान्डरमाथि कारबाही गर्नू

आयोगले भने प्रदर्शनस्थल भन्दा टाढा आफ्नो कामबाट डेरातर्फ फर्किरहेका निर्दोष नागरिकमाथि गोली हान्नुलाई चरम लापरबाही र मानव अधिकारको गम्भीर उल्लङ्घन भनेको छ।

प्रहरीको ‘झुक्किएर गोली लागेको’ भन्ने गैरजिम्मेवार तर्कलाई खारेज गर्दै आयोगले फिल्ड कमान्डर प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोरा र सशस्त्र प्रहरीका एसपी शैलेश श्रेष्ठसहितका सुरक्षाकर्मीमाथि प्रहरी नियमावली २०७१ को नियम ६७ (३) बमोजिम विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

त्यसबेला प्रहरीले पत्रकार सुरेश रजक थुनिएको मार्बल हाउसमा राजावादी समूहले दमकल जान नदिँदा बचाउन नसकिएको बताएको थियो। दमकल अवरोध गरिएको तथ्यमा आयोग पनि सहमत देखिए तापनि रजकको भिडियो क्यामेराको अवशेषसमेत फेला नपरेपछि घटना रहस्यमय रहेको ठहर गर्दै आयोगले सीआईबीमार्फत छुट्टै वैज्ञानिक अनुसन्धान गर्न आदेश दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।