श्रीलंकाकी पूर्वप्रथम महिला शिरन्थी राजपाक्षेलाई बाल अस्पतालका लागि उठाइएको चन्दा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने श्रीलंकाको आयोगले बुधबार ७३ वर्षीया शिरन्थीलाई कोलम्बोस्थित उनको निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप सोधपुछका लागि आयोगको कार्यालय लगिएको छ। आयोगका एक अधिकारीले उनको पक्राउ ‘सिरिलिया साविया फाउन्डेसन’सँग सम्बन्धित रहेको बताए।
उक्त संस्थाले बाल अस्पतालका लागि पोजिट्रोन उत्सर्जन टोमोग्राफी स्क्यानर खरिद गर्न भन्दै एक करोड श्रीलंकाली रुपैयाँ चन्दा उठाएको आरोप छ।

अनुसन्धानकर्ताहरूका अनुसार चीन सरकारले उक्त अस्पताललाई पोजिट्रोन उत्सर्जन टोमोग्राफी स्क्यानर पहिले नै दान गरिसकेको थियो। तर, त्यसपछि पनि संस्थाले स्क्यानरका लागि भन्दै चन्दा उठाएको र रकम दुरुपयोग गरेको आरोप लागेको छ।
शिरन्थीका वकिल मनोज गमागेले उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेको बताए। चन्दाको रकम दुरुपयोग नगरेको भन्दै उनले अदालतमा आरोपको सामना गर्ने बताएका छन्। अदालतले उनलाई जमानतमा रिहा गर्ने वा नगर्ने निर्णय गर्नेछ।
यसै प्रकरणमा सरकारी स्वामित्वको राष्ट्रिय बचत बैंकका तत्कालीन अध्यक्ष प्रदीप करियावासमलाई पनि पक्राउ गरिएको छ। उनलाई उचित वित्तीय प्रक्रिया नअपनाई राजपाक्षे परिवारको परोपकारी संस्थालाई एक करोड रुपैयाँ सार्वजनिक रकम दिएको आरोप लागेको छ।
शिरन्थी सेप्टेम्बर १६ मा उपचारका लागि सिंगापुर गएकी थिइन्। त्यही क्रममा उनलाई कोलम्बो विमानस्थलमा चन्दासम्बन्धी विषयमा प्रहरीसमक्ष बयान दिन बोलाइएको थियो। पक्राउ रोक्न अदालतमा निवेदन दिएपछि उनी सोमबार श्रीलंका फर्किएकी थिइन्। तर, अग्रिम जमानतसम्बन्धी सुनुवाइ अक्टोबर १२ का लागि तोकिएको छ।
शिरन्थी पूर्वराष्ट्रपति महिन्दा राजपक्षी पत्नी हुन्। राजपाक्षे परिवार श्रीलंकाको राजनीतिमा लामो समयसम्म प्रभावशाली रहँदै आएको थियो। राष्ट्रपति अनुरा कुमारा दिसानायकेको सरकारले राजपाक्षे परिवारका सदस्यसँग जोडिएका पुराना भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई फेरि अघि बढाएको छ।
यसअघि शिरन्थीका छोरा तथा विपक्षी सांसद नमल राजपाक्षे पनि सन् २०१३ मा भएको एयरबस विमान सम्झौतासँग सम्बन्धित आरोपमा हिरासतमा छन्।
राजपाक्षे परिवारले आफूहरूमाथिका भ्रष्टाचारसम्बन्धी आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूले आफूमाथि लगाइएका आरोप र चलाइएका मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।