विज्ञापन
समाज

तनहुँको थानीमाई मन्दिरमा एकै दिन चढाइयो ९१ फूलको डोली

तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा मंगलबार एकै दिन ९१ वटा फूलको डोली चढाइएको छ।

धार्मिक परम्पराअनुसार मनोकामना पूरा हुने जनविश्वासका साथ चार जिल्लाका भक्तजनले विभिन्न स्थानबाट बाजागाजासहित सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार मंगलबार मात्रै करिब नौ हजार ५०० भक्तजनले मन्दिरमा पूजाआराधना तथा दर्शन गरेका छन्। यसअघि सोमबार राति ४२१ जना भक्तजनले मन्दिर परिसरमा जाग्राम बसेर बत्ती बालेका थिए।

विज्ञापन

यसपटक मन्दिरमा तनहुँबाट ४४, लमजुङबाट ३२, गोरखाबाट १३ र काठमाडौंबाट दुई वटा गरी कुल ९१ वटा फूलको डोली ल्याइएको अध्यक्ष थापाले जानकारी दिए। मन्दिर परिसरमा बिहानैदेखि भजनकीर्तन र पूजाआराधना चलेको थियो।

धार्मिक मान्यताअनुसार सोमबार घरमा सत्यनारायणको पूजा गरी फूलको डोली तयार पार्ने र मंगलबार मन्दिरमा ल्याएर चढाउने चलन छ।

भक्तजनले पञ्चैबाजाको तालमा नाचगान गर्दै मन्दिरको तीन पटक परिक्रमा गर्छन्। त्यसपछि देवलमा तोरण तीन फन्को घुमाएर बाँधेपछि मात्रै मन्दिरभित्र प्रवेश गरी मुख्य पूजा गर्ने परम्परा रहेको छ।

थानीमाई मन्दिरमा प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मंगलबार विशेष रूपमा फूलको डोली चढाउने गरिन्छ। साउन महिना, एकादशी र औंसीबाहेक वर्षभरि नै मन्दिरमा नियमित पूजाआराधना हुने गर्दछ।

समुद्री सतहबाट करिब एक हजार २०० मिटर उचाइमा रहेको यो मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार तथा लमजुङको राइनासकोट र आकर्षक हिमशृङ्खला अवलोकन गर्न सकिन्छ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको यो मन्दिर पर्यटन मन्त्रालयको १४ लाख र भेटीको ६ लाख गरी कुल २० लाख रुपैयाँ लागतमा पुनर्निर्माण भइसकेको छ।

स्थानीयका अनुसार यस स्थानमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो। तत्कालीन समयमा हावाहुरी चल्दा एउटा रुखमुनि ओत लागेका भोटीनी आमाछोरी त्यहीँबाट अन्तर्ध्यान भएको र त्यसपछि उक्त स्थानमा दैवी शक्ति रहेको विश्वासका साथ थानीमाईको पूजा थालिएको किंवदन्ती छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।