विज्ञापन
समाज

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो।

भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मङ्गलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ पहिरोको अध्ययन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए। ‘आज केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पहिरोको अध्ययन गर्ने छौँ’, उनले भने, ‘विपद्बाट क्षति पुगेका बस्तीमा थप जोखिमको पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो।’

भौगर्भिक अध्ययन प्रतिवेदनको सुझावका आधारमा पुनर्निर्माणको काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताए। टोलीले क्षति भएका र जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण, ढुङ्गा र माटोको नमुना सङ्कलन, ड्रोन क्यामेराबाट तस्बिर तथा श्रव्यदृश्य सङ्कलनका साथै प्रभावितसँग छलफल गरेको छ। गत असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजलामा ३१६ घरमा क्षति पुगेको उनले जानकारी दिए।

विज्ञापन

एक सय २६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुग्नुका साथै १४० घर जोखिममा रहेको प्रारम्भिक विवरण सङ्कलन भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ तथा बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ।

अध्यक्ष आचार्यका अनुसार सबैभन्दा बढी कालीगण्डकी किनारमा रहेको जलजला गाउँपालिका–८ को फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन्। बाढी प्रभावितमध्ये अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसक्नेलाई अस्थायी शिविर बनाएर राखिएको छ। फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन्। वडा नं ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ।

अध्यक्ष आचार्यले पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको बताए। प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाइएको उनले उल्लेख गरे।

रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।