उच्च पहाडी तथा हिमाली भू-भागमा प्रतिकूल मौसमका कारण विपद्को जोखिम बढेको भन्दै अध्यागमन विभागले आगामी तीन दिनका लागि पदयात्रा गतिविधि पूर्ण रूपमा रोक्न आग्रह गरेको छ।
विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनी अनुसार कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा स्थगन गर्न अनुरोध गरेका हुन्।
विपद्को जोखिमलाई मध्यनजर गर्दै विभागले ती तीन दिन उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानहरूमा पदयात्राका लागि नयाँ अनुमतिपत्र जारी नगरिने बताएको छ।

यसअघि नै अनुमति लिएर पदयात्राका क्रममा तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकहरूलाई जोखिमपूर्ण अवस्थामा जथाभावी नहिँड्न र सुरक्षित स्थान वा आश्रयस्थलमै बस्न विभागले आग्रह गरेको छ।
मौसमको प्रतिकूलताबाट हुन सक्ने मानवीय दुर्घटना टार्न पूर्वसतर्कताका रूपमा यस्तो कदम चालिएको विभागले जनाएको छ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो निर्देशनको कडा रूपमा पालना गर्न र गराउन सूचित गरेको छ।
साथै, जोखिम टरेको आधिकारिक जानकारी नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्ण रूपमा स्थगित गर्न सबैमा अनुरोध गरिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।