चाडबाडमा यात्रुहरूको यात्रालाई सहज, व्यवस्थित तथा सुरक्षित बनाउन कपिलवस्तुका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दसैँ, तिहार र छठलाई लक्षित गरी आउजाउ गर्ने यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै प्रहरी र ट्राफिक प्रहरीको संयुक्त रूपमा ती कक्ष स्थापना गरिएको हो।
दसैँ, तिहार र छठलाई लक्षित गरी सीमाक्षेत्रमा तीन र सीमाक्षेत्रबाहिर छवटा गरी नौवटा केन्द्र स्थापना गरिएको हो। कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बसपार्कमा यात्रु कक्षको उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले व्यानर पढेर कक्षको शुभारम्भ गर्दै चाडबाडमा स्थापना गरिएको कक्षले यात्रुहरूको यात्रा सहज र व्यवस्थित हुने बताए। उनले चाडबाडमा सवारीको चाप बढी हुने भएकाले यात्रुहरू ठगिने, सामान हराउने, बस छुट्ने, टिकट नपाउने लगायतका समस्या आउन सक्ने भन्दै त्यसको समाधानका लागि यात्रु सहायता कक्ष सहयोगी हुने बताए।

उनले संवेदनशील सूचीमा रहेको कपिलवस्तुलाई धार्मिक सद्भाव कायम हुने किसिमले सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताए।
सो अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी विश्वेश्वर घिमिरेले चाडबाड लक्षित यात्रु सहायता कक्षले यात्रुहरूलाई सुरक्षित यात्रामार्फत गन्तव्यमा पुग्न सहयोग गर्ने बताए। उनले चाडबाड लक्षित एकीकृत सुरक्षा रणनीति समेत बनाइएको बताए।
चाडबाडमा यात्रुहरूको सहजतालाई ध्यान दिँदै सीमाक्षेत्रहरू कृष्णनगर, मर्यादपुर र चाडकचौडा तथा तौलिहवा, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा, बहादुरगन्ज र पकडीमा सहायता केन्द्र स्थापना गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए।
प्रहरीले दसैँमा घर फर्किने क्रममा नेपाली यात्रुहरूलाई सहजताका लागि केन्द्र स्थापना गरेको उनले बताए। प्रहरीले दसैँ, तिहारलगायतका चाडका बेला सीमाना र अन्य स्थानमा यात्रुलाई समस्या पर्न नदिन नागरिक सहायता कक्ष सञ्चालन गरेको उनले बताए। सीमा नाका कृष्णनगर र मर्यादपुरमा भारतबाट नेपाल फर्किने यात्रुहरूको चाप बढ्ने गर्छ।
प्रहरी निरीक्षक मनोहर भट्टले दसैँका बेला नेपाल फर्किने यात्रुहरूलाई बिना झन्झट सहज तरिकाले यात्राको सुविधालाई मध्यनजर गर्दै केन्द्र सञ्चालनमा ल्याइएको बताए। नौवटै केन्द्रमा प्रहरी र ट्राफिक प्रहरीसहितको टोली राखिएको छ। ‘समस्यामा परेका यात्रुहरूलाई केन्द्रमा खटिएको टोलीले आवश्यक सहयोग गर्नेछ,’ उनले भने।
विगतमा सीमामा जाने नेपाली नागरिक, प्रवासबाट नेपाल आउने र फर्किने प्रवासी नेपालीले विभिन्न सास्ती भोगेको गुनासो आउने गरेकाले सो कक्ष सञ्चालनमा ल्याइएको उनले बताए।
नागरिक सहायता कक्ष सञ्चालनसँगै नागरिकमैत्री वातावरण र सचेतनाका कार्यक्रमअन्तर्गत दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्प्लेट वितरणसमेत गरिने उनले बताए। नागरिकसँग मैत्रीपूर्ण सम्बन्ध राखी सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्नु कक्ष सञ्चालनको मुख्य उद्देश्य रहेको उनले बताए।
दसैँ लाग्न केही दिन अघिदेखि भारतबाट नेपाल फर्किने यात्रुको संख्या बढ्ने गर्छ। त्यसैअनुसार यात्रु सहायता कक्षसहित सुरक्षा व्यवस्था समेत मिलाइएको उनले बताए। उनले क्विक रेस्पोन्स टिम समेत खडा गरी परिचालन गरिने बताए।
सीमा क्षेत्रमा दसैँ र तिहारका बेला यात्रु ठगिने, लुटिने र दुर्घटनामा समेत वृद्धि हुने सम्भावना रहेकाले जिल्लाका तीन भारतीय सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक भट्टले बताए। उनले विशेष गरी सुरक्षाकर्मीलाई सीमा नाकामा निगरानी बढाउन निर्देशन दिएको बताए।
सञ्चालनमा ल्याइने नागरिक सहायता कक्ष दसैँ, तिहार र छठ अवधिभर यथावत् रहनेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।