पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन पुललाई आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ।
कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर उठाउने काम सम्पन्न भएको छ भने सुपर ढलान भइरहेको छ। पुलको फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा ढलानको काम पनि अन्तिम चरणमा पुगेको छ।
विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि पुल जीर्ण अवस्थामा पुगेको थियो। पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि कमला नदी तर्न डुङ्गाको सहारा लिनुपरेको थियो।

पुल निर्माणमा देखिएका मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि कामले तीव्रता पाएको महतोले बताए। पुलका दुवैतर्फ पुलसम्म पुग्ने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।
कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो। सोही निर्माण कम्पनीले अहिले पुल पुनःनिर्माणको काम गरिरहेको छ।
यसैबीच, हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको छ। उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कुल ५७ दशमलव ५२ किलोमिटर सडकखण्डमध्ये २९ दशमलव ९८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर निर्माणाधीन छ।
धनुषामा कुल ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४ दशमलव ९४ किलोमिटर निर्माणाधीन छ। महोत्तरीमा कुल ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने एक दशमलव ९४ किलोमिटर बाँकी छ।
त्यस्तै, सर्लाहीमा कुल १६६ दशमलव २ किलोमिटर सडकखण्डमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४ दशमलव ५१ किलोमिटर सडक निर्माणाधीन रहेको रायले बताए।
आर्थिक वर्ष २०८२र८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि राजमार्गभित्र परेका घरटहरा हटाउन ढिलाइ तथा विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए। बाँकी काम समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनले बताए।
नेपालकै पुराना राजमार्गमध्ये एक मानिने पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माण तीव्र रूपमा अघि बढेपछि विगतमा दुर्गम मानिएका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिँदै गएका छन्।
हुलाकी सडक निर्माणले स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै मधेस प्रदेशको आर्थिक गतिविधि र विकासले गति लिने तथा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।