नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी सभापति गगन थापामाथि लगाइएका आरोपका पछाडि गम्भीर षड्यन्त्र रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमिति, प्रदेशसभा ‘क’ र ‘ख’ कार्यसमिति तथा लुम्बिनी प्रदेश प्रतिनिधिको सपथग्रहण एवं शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै पुनले पार्टीका केन्द्रीय सभापतिविरुद्ध भइरहेको षड्यन्त्रको प्रतिवाद गर्नुपर्ने बेला आएको बताए।
‘अरू पार्टीको भन्दा गगन थापा राजनीतिको मियो हुनुहुन्छ। अहिले गगन थापामाथि जुन आरोप लगाइएको छ, यो षड्यन्त्र हो,’ उनले भने, ‘हामीले गर्नुपर्ने कुरा गर्दैनौँ। प्रतिवाद गर्ने हाम्रो चलन छैन। पार्टी सभापति गगन थापामाथि भएको षड्यन्त्रविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस्।’

पुनले कांग्रेसको विशेष महाधिवेशनमा कुनै पनि प्रकारको ‘सेटिङ’ नभएको दाबी गरे।
‘के कारणले १८ करोडको कुरा अहिले आइरहेको छ ?’ उनले प्रश्न गर्दै भने, ‘त्यही मान्छेले कहिले गगन थापासँग, कहिले शेरबहादुर देउवासँग गरेको भनेर आइरहेको छ। विशेष महाधिवेशनमा कांग्रेसले कतै पनि सेटिङ गरेको छैन। नीतिगत रूपमा आफ्ना कुरा राख्ने काम भएको होला, तर सेटिङ भएको छैन।’
निर्वाचन आयोगको परिधिअनुसार नै कांग्रेसले विशेष महाधिवेशन गरेको उनको जिकिर थियो।
पुनले पार्टी सभापतिविरुद्ध भ्रम फैलाउने काम भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न पार्टीका कार्यकर्तालाई आग्रह गरे। विगतमा प्रधानमन्त्रीले सेनापतिलाई चलाउँदा उत्पन्न भएको परिस्थितिको स्मरण गर्दै अहिले पनि त्यस्तै अवस्था निम्तिन सक्ने उनको भनाइ थियो।
‘प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, साना–साना कुरामा तपाईंले जुन काम गरिरहनुभएको छ, त्यसले तपाईंलाई फाइदा गर्दैन,’ उनले भने, ‘तपाईंले सबै पार्टीको संरक्षण गर्नुपर्छ, जनताको संरक्षण गर्नुपर्छ र नेपालको संविधानअनुसार चल्नुपर्छ।’
कांग्रेस सभापति थापाले राम्रा काममा सरकारलाई सहयोग गर्ने बताउँदै आएको समेत नेता पुनले स्मरण गराए।
कांग्रेस बाँके क्षेत्र नम्बर ३ का सभापति केशव शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य दीपकुमार श्रेष्ठ, सुधांशु कोइराला र सीता काफ्ले, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल तथा लुम्बिनी प्रदेशका सांसद एवं कांग्रेस नेता बादशाह कुर्मीलगायतले कांग्रेसविरुद्ध विभिन्न षड्यन्त्र भइरहेको बताएका थिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।