ब्रेकिङ न्युज
विज्ञापन
स्वास्थ्य

क्यान्सरको बढ्दो जोखिम रोकथाममा चुनौती

नेपालमा क्यान्सर रोग तीव्र गतिमा बढ्दै गएको छ। पछिल्ला पाँच वर्षमा स्तन क्यान्सरका बिरामी करिब दोब्बर हुनु यसको स्पष्ट प्रमाण हो। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ क्यान्सरका बिरामीले सरकारी उपचार सहुलियत लिएका थिए भने २०८१/८२ मा यो संख्या बढेर २८ हजार ६७८ पुगेको छ।

रोगीको संख्यामा आएको वृद्धि केवल तथ्यांकीय परिवर्तन होइन, बदलिँदो जीवनशैली, कमजोर रोकथाम प्रणाली र समयमै उपचार नपुग्ने संरचनागत समस्याको परिणाम हो र यसले स्वास्थ्य प्रणालीसँगै सामाजिक–आर्थिक संरचनामाथि पनि गम्भीर चुनौती खडा गरिरहेको छ।

क्यान्सरको बढ्दो भार नेपालमा नसर्ने रोगको व्यापक विस्तारसँग प्रत्यक्ष रूपमा जोडिएको छ। मधुमेह, उच्च रक्तचाप, मुटुरोगसँगै क्यान्सर पनि प्रमुख मृत्युकारक रोग बनेको छ। एक अध्ययनअनुसार नेपालमा कुल मृत्युको करिब ११.११ प्रतिशत कारण क्यान्सर नै हो। यसमध्ये फोक्सो, पाठेघरको मुख, स्तन, पेट र आन्द्राको क्यान्सर प्रमुख छन्। फोक्सो र पाठेघरको मुखको क्यान्सर मात्र करिब ४० प्रतिशतभन्दा बढी मृत्युका लागि जिम्मेवार रहेको तथ्यले यसको भयावहता स्पष्ट पार्छ। त्यसो त विश्वभर पनि क्यान्सर एक प्रमुख स्वास्थ्य चुनौती हो।

विज्ञापन

विश्वमा प्रत्येक ६ जनामध्ये एक जनाको मृत्यु क्यान्सरका कारण हुने गरेको अनुमान छ। वार्षिक रूपमा क्यान्सरका करिब दुई करोड नयाँ बिरामी थपिन्छन् र करिब ९७ लाखभन्दा बढीको मृत्यु यही रोगको कारणबाट हुन्छ। यसले देखाउँछ कि नेपाल मात्र होइन, विश्वव्यापी रूपमा नै क्यान्सर नियन्त्रण ठुलो चुनौती बनेको छ।

केही वर्षअघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर बढी हुन्थ्यो तर अहिले यो स्थान स्तन क्यान्सरले लिन थालेको छ। अहिले स्तन क्यान्सर महिलामा हुने क्यान्सरमध्ये पहिलो नम्बरमा रहेको तथ्यांकले देखाएको छ।

गत वर्ष सार्वजनिक अस्पतालजन्य क्यान्सर रजिस्ट्रीअनुसार नेपालमा केही वर्षयता वार्षिक करिब पाँच हजार महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको छ। चिकित्सकका अनुसार सबैभन्दा बढी स्तन क्यान्सर ४० देखि ५० वर्ष उमेर समूहका महिलामा देखिन्छ। त्यसपछि ५० देखि ६० वर्ष उमेर समूहका महिला यो समस्याबाट पीडित छन्।

नेपालमा क्यान्सरको समयमै पहिचान अहिले पनि चुनौती बनेको छ। पहिलो चरणमा स्तन क्यान्सर पहिचान भएमा ९० प्रतिशत क्यान्सर पूर्ण रूपमा निको हुन्छ तर नेपालमा अहिले पनि स्तन क्यान्सर ढिला पहिचानको समस्या कायमै छ। विशेषज्ञका अनुसार चौथो चरणमा स्तन क्यान्सर निको हुने सम्भावना ५ प्रतिशतभन्दा कम हुन्छ। तर जनचेतनाको कमी, परम्परागत उपचारमा विश्वास, स्वास्थ्य सेवामा पहुँचको अभाव र परीक्षणको ढिलाइका कारण अहिले पनि स्तन क्यान्सरबाट धेरै महिलाले मृत्युवरण गर्नुपरेको छ।

क्यान्सर केवल स्वास्थ्य समस्या होइन, आर्थिक र सामाजिक संकट पनि हो। नेपालमा स्वास्थ्य सेवामा व्यक्तिगत खर्च अझै पनि अत्यधिक उच्च छ। दीर्घकालीन र महँगो उपचार आवश्यक पर्ने क्यान्सरले परिवारलाई आर्थिक रूपमा कमजोर बनाउँछ।

सरकारले क्यान्सरपीडित विपन्न नागरिकका लागि एक लाख रुपैयाँसम्म र प्रदेश सरकारले थप एक लाख रुपैयाँसम्म उपचार सहायता उपलब्ध गराए पनि वास्तविक उपचार खर्चको तुलनामा यो अत्यन्तै कम छ। धेरै परिवार उपचारका क्रममा ऋणमा डुब्ने वा उपचार नै बिचमै रोक्ने अवस्थामा पुग्छन्।

क्यान्सर रोग वृद्धिका अनेकौं कारणमध्ये जीवनशैली परिवर्तन मुख्य हो। अत्यधिक फास्टफुड, प्रशोधित खाना, धूमपान, मद्यपान, रसायनयुक्त कृत्रिम खानाहरू, खाद्यान्नमा अत्यधिक विषादी तथा रसायनको प्रयोग, शारीरिक निष्क्रियता र मोटोपनले क्यान्सरको जोखिम बढाइरहेको छ।

ग्रामीण क्षेत्रमा असुरक्षित यौन व्यवहार, महिनावारी सफाइको कमी, ह्युमन पेपिलोमा भाइरस चेतनाको कमीको कारण पाठेघरको मुखको क्यान्सर बढी देखिन्छ। सहरी क्षेत्रमा अस्वस्थ जीवनशैलीका कारण स्तन र पेटसम्बन्धी क्यान्सर बढिरहेको छ। विशेषज्ञहरूका अनुसार सुर्तीजन्य पदार्थ, मद्यपान र शारीरिक निष्क्रियता मात्र क्यान्सरका एक तिहाइ कारण हुन्।

सरकारले क्यान्सर नियन्त्रणका लागि केही सकारात्मक कदम चालेको छ। एचपिभी खोप निःशुल्क उपलब्ध गराउनु, क्यान्सर अस्पतालहरूको स्थापना गर्नु र नसर्ने रोगसम्बन्धी जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्नु महत्त्वपूर्ण प्रयास हुन्। क्यान्सर लागिसकेपछि उपचार र उपचारपछि निको हुनु कठिन विषय भएकाले उपचारसँगै रोकथामको नीति समावेश गर्नु जरुरी छ।

नेपालमा अझै पनि क्यान्सर नियन्त्रणका लागि समन्वित राष्ट्रिय रणनीति, प्रारम्भिक परीक्षण कार्यक्रमको विस्तार, ग्रामीण क्षेत्रमा पहुँच वृद्धि र निरन्तर जनचेतना अभियान आवश्यक छ। क्यान्सर नियन्त्रणको मूल आधार रोकथाम हो। जीवनशैली सुधार, धूमपान र मद्यपान नियन्त्रण, नियमित व्यायाम र समयमै स्वास्थ्य परीक्षण र नागरिकलाई अर्गानिक खानेकुराको पहुँचमा पुर्‍याउने विषयलाई प्राथमिकता दिए धेरै क्यान्सर रोक्न सकिन्छ। साथै क्यान्सर भइहाले सुरुआती समयमै पहिचान हुने गरी अनिवार्य परिक्षण मापदण्ड नियन्त्रणको अर्को अनिवार्य सर्त हुनुपर्छ। रोकथाम र उपचार दुवै सेवालाई नेपालले समयमै अवलम्बन नगरे आगामी वर्षहरूमा ठुलो मानवीय र आर्थिक संकट निम्त्याउने निश्चित छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।