ब्रेकिङ न्युज
विज्ञापन
स्वास्थ्य

‘छाही’ ले दुहवीवासीको स्वास्थ्य जोखिममा

दुहवी– १ का ४८ वर्षीय अफरोज रैनको आँखामा दुई वर्षदेखि समस्या हुँदै आएको छ। आँखामा कालो ‘छाही’ परेर चिकित्सककहाँ उपचार गरेपछि समस्या हुँदै आएको हो। ‘जहिलेदेखि आँखामा कालो छाही पर्‍यो, त्यही बेलादेखि मेरो आँखा रातो हुने गरेको छ’, सिटी सफारी चालक रैनले भने, ‘हावा चल्ने सिजनमा त कालो छाहीले साह्रै समस्या गर्ने गरेको छ।’ उनका अनुसार कालो ‘छाही’ ले आँखासँगै घरको खाना र घरपालुवा पशुको आहारमा समेत कालो डस्ट थुपिँ्रदा मानव र पशु स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरेको छ।

‘कालो छाही मान्छेको खानेकुरामा मिसिँदा तत्काल केही नभए पनि भविष्यमा असर गर्छ’, दुहवी– १ कै जयप्रकाश रौनियारले भने, ‘पशुको पनि पेटमा असर गर्छ।’ रौनियारले १० वर्षदेखि कुखुरापालन गर्दै आएकोमा पछिल्लो दुई वर्षदेखि कालो ‘छाही’ ले समस्या भएपछि पाल्न छाडेका छन्। ‘हामी त खानेकुरा व्यवस्थित ढंगले छोपेर राख्छौं, कुखुराका चारा त्यसरी छोप्न सम्भव नहुँदा कुखुरामा लिभरको रोग देखिएपछि पाल्नै छाडिदिएँ’, रौनियारले भने, ‘कुखुरा बिरामी परेपछि पशु चिकित्सक ल्याएर जाँच गरियो, लिभर खराबी देखाउँछन्।’ उनले कुखुरामा रोग देखिएकाले लिभर खराबलाई मानवसँग पनि दाज्न मिल्ने जिकिर गरे।

विशेषगरी चैत र वैशाखमा हावाहुरी चलेको बेला दुहवी– १ को परसटोकी बस्तीको ठुलो भूभागमा कालो ‘छाही’ ले बाटोमा हिँड्नेदेखि घरमै बस्नेलाई पनि असर गर्ने गरेको छ। बस्तीमा प्रायः मुस्लिम समुदायको बाहुल्य छ। त्यसमा पनि बढी मात्रामा आर्थिक अवस्था कमजोर र चेतनाको हिसाबले पिछडिएका छन्।

विज्ञापन

‘छाही’ भनेको धानलाई मिलमा कुट्दा वा प्रशोधन गर्दा धानको दानाबाट छुट्टिने बाहिरी बोक्रा अर्थात् भुस हो। धानको दानाको सबैभन्दा बाहिरी तहलाई हटाएपछि चामल प्राप्त हुन्छ र त्यस क्रममा छुट्टिने हलुका, सुक्खा र रेसादार पदार्थलाई स्थानीय रूपमा ‘छाही’ भनिन्छ। ‘छाही’ लाई सुकाएर धान कुट्ने उद्योगले इन्धनका रूपमा प्रयोग गर्छन्।

इन्धनका रूपमा प्रयोग गरिएको ठुलो मात्रामा ‘छाही’ उत्पादन हुँदा त्यसको उचित व्यवस्थापन नगरेमा हावामा उड्ने धुलो, फोहोरको थुप्रो र आगलागीको जोखिम हुन सक्छ। मोरङ बुढीगंगा गाउँपालिका– ४ को जयश्रीराम खाद्य उद्योगले बुढी खोला नदी किनारामा खुलारूपमा कालो छाही फ्याँक्दा दुहवी– १ का बासिन्दालाई असर गर्दै आएको हो।

‘कालो छाहीले आँखामा मात्र होइन, अरू पनि थुप्रै असर गर्छ। तर आँखामा पर्दा भने त्यसले निकै ठुलो क्षति गर्ने खतरा रहन्छ’, स्वास्थ्यकर्मी समेत रहेका शिवचन्द यादवले भने, ‘दुई वर्षअघि मेरो पनि आँखामा कालो छाही परेपछि दुई दिनसम्म अस्पताल बसेर उपचार गरेर फर्किएको थिएँ।’ उनका अनुसार वडा नं १ का बासिन्दामा पर्याप्त मात्रामा स्वास्थ्य सचेतना नभएको र नियमनकारी निकायले पनि यसबारे चासो नलिँदा समस्या बढेर गइरहेको छ।

‘उद्योगले कालो छाहीलाई व्यवस्थापन नगर्दा दुहवी– १ मा नयाँ खुलेका उद्योगले पनि मनोमानी गर्ने गरेका छन्’, उनले भने, ‘जसले गर्दा कालो डस्ट गाउँबस्तीमा फैलिँदा सबै उमेर समूहलाई भविष्यमा समस्या सिर्जना हुने निश्चित छ।’ ‘छाही’ ले आँखाको नानी (कर्निया) मा पर्ने फुलो पर्ने वा अन्य संक्रमणका कारण मानिसको दृष्टिमा आउने गम्भीर जोखिम र त्यसको समयमै उपचार नहुँदा अन्धोपनसम्म हुन सक्ने जटिलता हुन सक्छ।

आँखाबाहेक ‘छाही’ ले कुनै पनि व्यक्तिलाई श्वासप्रश्वासमा समस्या भएर दमका रोगी बढ्ने, जीउमा एलर्जी देखा पर्ने, मानिसको खानामा छाहीको डस्ट मिसिँदा आन्द्रामा घाउ हुन सक्ने हेल्थ एसिस्टेन्ड अब्जल रैनले बताए।

बुढीगंगा गाउँपालिकाकी जिना ऋषिदेवका अनुसार कालो ‘छाही’ ले बढी मात्रामा दुहवी– १ कै बस्तीमा असर गर्ने गरेको छ। ‘अहिले जुन उद्योगले छाही खोला किनारमा फ्याँकिरहेको छ, त्यो पूर्वको हावा चल्दा सोझै दुहवी– १ को बस्ती रहेकाले बढी असर गर्ने गरेको हो’, उनले भनिन्। बुढीगंगातर्फ भने उद्योगले घेरिएकाले असर गर्दैन।

बस्तीका बासिन्दाबाहेक कालो ‘छाही’ ले दुहवी– १ मै सञ्चालित बजरङ फ्याक्ट्रीका कामदारलाई पनि समस्या हुने गरेको कामदार बबुल मेहताले बताए। ‘कालो छाहीले त बस्तीसँगै हामीलाई पनि असर गर्दै आएको छ’, उनले भने। बजरङ उद्योगबाट निस्कने कालो धुवाँले पनि त्यस उद्योगभन्दा पश्चिमतर्फको बस्तीका वासिन्दालाई प्रतिकूल असर गर्दै आएको छ।

विशेषगरी धान कुट्ने मिलको कालो ‘छाही’ अनि दुहवी– १ कै बजरङ उद्योगको कालो धुलोले प्रायः आँखाबाट आँसु बग्ने अनि शरीरमा पानीफोका निस्कने गरेको नाजो खातुनले बताइन्। उद्योगले रसायन प्रयोग गर्नाले पनि कालो धुलो उडेर जाँदा मानव स्वास्थ्यमा समस्या आइलागेको अर्की महिला क्यामुदिन मियाँ बताउँछिन्।

दुहवी– १ को बस्तीमा कालो ‘छाही’ ले स्वाभाविक रूपमा असर गरे पनि अहिलेसम्म नगरपालिकामा कुनै गुनासो नआएको नगरपालिकाको स्वास्थ्य शाखा पब्लिक हेल्थ अफिसर उचितनारायण साहले बताए। उनका अनुसार उद्योगले सरकारी मापदण्ड पालन नगर्दा त्यस्तो अवस्था सिर्जना भएको हो। ‘दुहवी नगर अस्पताल सोनापुरमा हुँदा पनि उद्योगबाट निस्कने धुलोले असर गरेपछि सबै उद्योगीलाई डाकेर भनेपछि उनीहरूले सरकारी मापदण्ड लागु गर्दा कमी आएको थियो’, उनले भने।

अहिले अस्पताल दुहवी– १२ को सुविधासम्पन्न भवनमा सरिसकेको छ। वातावरण शाखा प्रमुख विमलनारायण चौधरीले पनि असर गर्ने भए पनि गुनासो नआउँदा त्यसबारे कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताए।

उता, जयश्री राम खाद्य उद्योगका म्यानेजर बनोद रायले आफ्नै जग्गामा कालो ‘छाही’ फ्याँकिएको र अहिलेसम्म कसैको गुनासो नआएको जिकिर गरे। ‘दुहवी– १ का धेरैलाई जागिरबाट निकालेका कारण त्यस्तो आरोप लगाएका होलान्, सबैको चित बुझाउन सकिँदैन। अहिलेसम्म केही गुनासो आएको छैन’, उनले भने।

त्यसो त सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा पर्ने बुढीगंगा, इटहरी, खनार, सोनापुर, दुहवी क्षेत्रमा कारखानाबाट निस्किने अनेक प्रकारका रसायन मिसिएका विषाक्त पानीको दुस्प्रभाव दिनदिनै बढ्दो छ। सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका प्रायः सबै उद्योगको फोहोर तथा विषाक्त पानी विनाप्रशोधन स्थानीय बुढीखोलामा निर्बाध रूपमा मिसाइन्छ। त्यस्तो फोहर तथा विषाक्त पानी केही उद्योगले पाइप तथा ह्विमपाइप प्रयोग गरी सोझै बुढीखोलामा मिसाएका छन् भने धेरैजसोले वरपरका खेत, नाला, खोल्सामा फोहर तथा विषाक्त पानी त्यत्तिकै छाडिदिने गर्छन्, जुन बग्दै गएर बुढीखोलामा मिसिने गर्छ।

यसरी कारखानाले निस्कासन गर्ने फोहर तथा विषाक्त पानीका कारण अनेक किसिमका स्वास्थ्य समस्या देखिने, गाईवस्तु मर्ने, मानिसको मृत्युसमेत हुने भएपछि कारखाना व्यवस्थापनविरुद्ध बेलाबेलामा स्थानीय विरोधमा समेत उत्रिने गरेका छन्। उनीहरू सरोकारवालाको ध्यानाकर्षण तथा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने, कारखानाअघि धर्ना दिने, नाराबाजी गर्नेलगायत विरोध प्रदर्शन गर्ने गर्छन्, तर समस्या ज्यूँका त्यूँ छन्।

मुलुकको पहिलो आर्थिक राजधानी मानिने सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा सानाठुला गरी दुई हजार पाँच सयभन्दा बढी कलकारखाना सञ्चालित छन्। कलकारखाना देश विकासका मेरुदण्ड मानिन्छन्, तर त्यही कलकारखाना अव्यवस्थित र कानुनी व्यवस्था बेवास्ता गर्दै सञ्चालन गरिँदा वातावरण विनाशमात्र होइन मानव स्वास्थ्यमा ठुलो असर गर्दै आएको छ। सुनसरी–मोरङ करिडोर क्षेत्रमा १५ वर्षयता औद्योगिक प्रदूषण झन् बढेको छ, तर प्रदूषण कम गर्नेतिर उद्योगहरूको रुचि देखिएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।