चीनसँगको एक मात्र व्यापारिक मार्ग कोरला नाका जोड्ने बेनी-जोमसोम सडक खुलाउन मर्मतमा खटिएका डोजरहरूलाई नेपाली सेनाको सहयोगमा ड्रोनमार्फत इन्धन ढुवानी गरिएको छ।
अविरल वर्षापछिको बाढीले रघुगङ्गा गाउँपालिका-२ कुनौटामा कालीगण्डकी नदीले करिब २५० मिटर सडक कटान गरेपछि मानिससमेत हिँड्न नसक्ने अवस्था बनेको थियो। सडक सञ्जाल विच्छेद भई उपकरणहरूलाई इन्धन अभाव भएपछि ड्रोनको सहारा लिनुपरेको हो।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बेनीबाट गाडीमा कुनौटासम्म ल्याइएको डिजेल ड्रोनमार्फत भीर र नदी पार गराइएको हो।

छ पटकको उडानबाट ४०० लिटर डिजेल कटान क्षेत्र कटाएर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर पुर्याइएको शर्माले जानकारी दिए।
काठमाडौंबाट आएका प्राविधिक जनशक्तिको सहयोगमा ड्रोन परिचालन गरिएको शत्रुभञ्जन गुल्मका सेनानी राकेश बस्नेतले बताए।
उनका अनुसार एक पटकमा १२० लिटरसम्म डिजेल ड्रोनमार्फत ढुवानी गरिएको थियो। यसअघि नेपाली सेनाले रसुवाको बाढीग्रस्त क्षेत्रमा राहत सामग्री ढुवानी गर्न पनि ड्रोन प्रयोग गरेको थियो।
शनिबार रघुगङ्गा-३ तिल्केनीचौरबाट बैसरीसम्म सेना र स्वयंसेवकले पैदलै इन्धन बोकेर पुर्याएका थिए।
हाल बाढी र कटानबाट क्षतिग्रस्त सडक मर्मतका लागि करिब २० वटा डोजर र सयौँ मजदुर रातदिन खटिएका छन्।
पोखरेबगर, रातोपानी, घिरच्याङ, महभिर, भिरकाटे, राहुपारे, तिल्केनीचौर तथा पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग मर्मतको काम भइरहेको आयोजनाले जनाएको छ।
पर्वतको मालढुङ्गादेखि कोरला नाकासम्म कुल २०२ किलोमिटर दूरी रहेको यस सडकको कुनौटा-पोखरेबगर खण्डमा करिब १२ किमी सडक मर्मत गर्न बाँकी छ। अन्य खण्डहरूमा भने मर्मतपछि एकतर्फी रूपमा हलुका सवारीसाधन सञ्चालन हुन थालेका छन्।
सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले यसै साताभित्र सडक पूर्ण रूपमा खुलाउने लक्ष्यसहित काम भइरहेको बताए।
बाढीपहिरोले रसुवा र तातोपानी नाका ठप्प भएकाले उत्तरी छिमेकी चीनसँगको अन्तर्राष्ट्रिय व्यापारका लागि हाल कोरला नाका मात्र सञ्चालनमा छ।
दसैं-तिहारका लागि मुस्ताङबाट भेडाच्याङ्ग्रा झार्ने, स्याउ बजार पठाउने मुख्य सिजन र पर्यटकीय यामसमेत सुरु भएकाले अवरुद्ध सडक छिटो सञ्चालनमा ल्याउन सरकारमाथि चौतर्फी दबाब छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।