ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस सभापतिमा उम्मेदवारी दर्तापछि गगन, खड्गी र राठौरले के भने ?

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जना नेता चुनावी मैदानमा उत्रिएका छन्।

राष्ट्रिय सभागृहमा मंगलबार मनोनयन दर्ता गराएपछि पार्टी सभापति गगनकुमार थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र काठमाडौं क्षेत्र नम्बर-६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले आ-आफ्ना राजनीतिक एजेन्डा र प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

तीन प्रतिस्पर्धीमध्ये कसले के भने ? यस्तो छ उनीहरूको भनाइको सम्पादित विवरण:

विज्ञापन

गगन थापा : पदाधिकारीमै भिड्दा योग्य साथीहरू बाहिरिने जोखिम छ

मंगलबार साँझ ६:०५ बजे सभापति पदमा उम्मेदवारी दर्ता गराएका पार्टी सभापति गगनकुमार थापाले पार्टी चलाउन चाहिने योग्य नेताहरू पदाधिकारी पदमै एकापसमा प्रतिस्पर्धा गर्दा बाहिरिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे।

‘पार्टीका लागि चाहिने एकदमै जिम्मेवार साथीहरू पदाधिकारीमै भिड्दा भोलि पराजित भएर पार्टीको केन्द्रीय समितिबाटै बाहिर रहने अवस्था नआओस् भन्नेमा म सचेत छु,’0 थापाले भने, ‘त्यसैले मैले व्यक्तिगत रूपमा पनि सबैलाई मिलाएर लैजान संवाद गरिरहेको छु।’

केन्द्रीय संरचनाबारे बोल्दै थापाले प्रवासमा रहेका श्रमिक नेपाली नागरिकलाई केन्द्रीय समितिमा जोड्न नयाँ संख्या थपिएको जानकारी दिए।

खुला प्रतिस्पर्धाका कारण महिला, दलित, मधेसी र खस-आर्यबाहेकका क्लस्टरको उपस्थिति कमजोर हुन नदिन पदाधिकारीको संरचना र संख्यामा नयाँ अभ्यास गरिएको उनले सुनाए।

श्यामकृष्ण खड्गी: गगनलाई रोक्न होइन, आन्तरिक लोकतन्त्र जोगाउन उम्मेदवारी

सभापति पदमा सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका नेता श्यामकृष्ण खड्गीले गगन थापालाई सर्वसम्मत हुन नदिन मात्र आफूले उम्मेदवारी दिएको भन्ने चर्चालाई खण्डन गरे।

‘कोलकाता अधिवेशनदेखि अहिलेसम्म कांग्रेसको नेतृत्व निर्वाचन प्रक्रियाबाटै आउने गरेको इतिहास छ,’ खड्गीले भने, ‘व्यक्ति विशेष सभापति बन्दैमा लोकतन्त्र कमजोर हुने होइन, तर नेतृत्व चयनको विधि र प्रक्रिया सधैँ लोकतान्त्रिक हुनुपर्छ भनेर म मैदानमा आएको हुँ।’

थापा आफ्ना पूर्वविद्यार्थी रहेको स्मरण गर्दै खड्गीले गुरु-चेलाबीचको यो प्रतिस्पर्धालाई सुखद बताए। आफू सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा शिक्षक हुँदा थापा विद्यार्थी रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउनु गौरवको कुरा भएको उल्लेख गरे।

गुट र उपगुटका कारण निष्ठावान् कार्यकर्ता पाखा लाग्ने गरेको भन्दै आफू कुनै प्यानलमा नरहेको उनले सुनाए। साथै, पार्टीभित्र असन्तुष्ट बनेर अलग गतिविधि गरिरहेका पुराना नेता तथा शीर्ष नेतृत्वका सन्तानलाई जोडेर सिङ्गो कांग्रेस बनाउने आफ्नो संकल्प रहेको उनले बताए।

किशोरसिंह राठौर : नेताहरूले धोका दिए, जितेपछि पार्टी हराउनेलाई निष्कासन गर्छु

सभापति पदमा अन्तिममा उम्मेदवारी दर्ता गराएका नेता किशोरसिंह राठौरले आफूले ३५ वर्षसम्म साथ दिएका शीर्ष नेताहरूले चुनाव लड्ने बेला मैदानमा एक्लै छाडेको भन्दै आक्रोश पोखे।

‘मैले साढे तीन दशक जुन नेताहरूलाई साथ दिएँ, आज तिनै नेताहरूले मलाई आधिकारिक उम्मेदवार बनाएर गगनजी विरुद्ध मैदानमा उतार्नुपर्थ्यो,’ राठौरले भने, ‘तर म एक्लै मैदानमा उभिनुपरेको छ। यसमा सबै पक्षको कमजोरी छ।’

रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍याएको र कम्युनिस्टहरू मिल्दै गर्दा कांग्रेसभित्रै दुईवटा अधिवेशनको अभ्यास हुनु विडम्बनापूर्ण भएको उनले बताए।

आफू सभापतिमा निर्वाचित भए पार्टी हराउन भूमिका खेल्ने केन्द्रीय सदस्य, जिल्ला तथा क्षेत्रीय सभापतिहरूलाई पार्टीबाटै निष्कासन गरेर अनुशासन कायम गर्ने उनले चेतावनी दिए।

सर्वोच्च अदालत र निर्वाचन आयोगले आधिकारिकता दिएपछि रुख र चारतारे झन्डा जोगाउन आफू संस्थापन पक्षमै दृढ रहेको उल्लेख गर्दै उनले यसपटक जित्न नसके पनि आगामी १६औं महाधिवेशन जित्ने लक्ष्यका साथ देशभर संगठन बनाउन लाग्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।