नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याइएको बताएका छन्।
आफू नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको वास्तविक खाका कोरेको उनको दाबी छ।
लेखक डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ नामक पुस्तक आज विमोचन गर्दै संयोजक दाहालले विभेदमा पारिएका वर्ग र क्षेत्रलाई समृद्धिको यात्रामा लैजान आफू प्रधानमन्त्री हुँदा पूर्वाधार विकासको सुरुवात गरेको स्पष्ट पारे।

‘पूर्व-पश्चिम मध्यपहाडी राजमार्ग तथा उत्तर-दक्षिण कोरिडोर निर्माणले नेपाललाई थप एकताबद्ध बनाएको छ,’ दाहालले भने, ‘अब कर्णालीका स्याउ बाहिरी जिल्लामा पुर्याउन र तराईका अन्नबाली कर्णाली पुर्याउन अप्ठ्यारो छैन। रणनीतिक सोचको नेतृत्व नभएको भए यो विकास हुन सक्दैनथ्यो।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको बृहत्तर समृद्धिका लागि १० हजार ८०० मेगावाट क्षमताको कर्णाली-चिसापानी बहुउद्देश्यीय आयोजना तथा तिला-१ र तिला-२ जलविद्युत आयोजना अघि बढाउन पहल गरेको जानकारी दिए।
त्यस्तै हिल्सा-सुर्खेत रणनीतिक सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा तत्कालीन समयमै सैद्धान्तिक समझदारी जुटेको उनले स्मरण गरे।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।