कांग्रेस महामन्त्री डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको बताएकी छन्।
उनले बुधबार सामाजिक सञ्जालमार्फत ‘बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’ भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गरेकी हुन्।
संग्रौलाले देशमा प्रधानमन्त्री शाह छन् कि को छन् भन्ने कुरा आम नागरिकले समेत थाहा पाउन छाडेको भन्दै सुशासनको सट्टा छाडातन्त्र हाबी हुन थालेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन छाडातन्त्र हाबी भएका उदाहरणहरू देखिन थालेका छन्।’
हाल कारागारमा रहेका बिचौलिया सापकोटासँग नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नाम जोडिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।
महामन्त्री संग्रौलाले लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको बताएकी छन्। तर, सत्ताले गरेका गल्तीको पर्दाफास हुँदा लाज पनि लजाउने अवस्था आउने उनको भनाइ छ।
प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको विषय बाहिर आइसकेको भन्दै उनले सत्ता र सत्तारूढ दल रास्वपासँग जवाफ मागेकी छन्।
उनले लेखेकी छिन्
इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको छ। देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन छाडातन्त्र हाबी भएका उदाहरणहरू देखिन थालेका छन् । हेक्का रहोस् लोकतन्त्रको सतत पहरेदार नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको छ, तर सत्ताले गरेका गल्तीहरूको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ। प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोनलाई फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब जवाफ दिनु पर्ने पालो सत्ता र सत्तारुढ दलको हो। कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।