राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको बताएका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारका कामकारबाहीमा चेक एन्ड ब्यालेन्स राख्नु, प्रश्न गर्नु र आवश्यक पर्दा स्पष्टता खोज्नु पार्टीको जिम्मेवारी भएको बताए।
आइजिपी प्रकरणलाई लिएर पार्टीमा असन्तुष्टि रहेको भन्ने प्रश्नबारे उनले सुरक्षा निकायको जिम्मेवारी हेरफेर संवेदनशील विषय भएकाले त्यसको औचित्य पुष्टि गर्ने दायित्व सरकारकै भएको बताए।

‘पार्टीले आइजिपी फेर, डिआइजी फेर, इन्स्पेक्टर वा सिडिओ फेर भनेर बिलकुल भन्दैन,’ लामिछानेले भने, ‘सरकारले काम गर्नका लागि आवश्यक कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै रहन्छ। उपयुक्त समयमा सरकारले यसको औचित्य पुष्टि गर्ला।’
उनले न्युजरुममा प्रहरी प्रवेश गरेको विषयमा पार्टीले सरकारसँग गम्भीर रूपमा स्पष्टता मागिसकेको समेत स्मरण गराए। पछिल्लो समय भइरहेका विभिन्न पक्राउलाई लिएर सञ्चारकर्मीले ‘यो टु मच भएन र ?’ भनी सोधेको प्रश्नमा लामिछानेले उल्टै ‘हाउ मच इज टु मच ?’ भन्दै प्रतिप्रश्न गरे।
विभिन्न अनुसन्धानका क्रममा सरकारले काम गरिरहेको बताउँदै उनले सबै विषयलाई एउटै डालोमा हालेर हेर्न नहुने उल्लेख गरे। सरकार र पार्टीका प्रवक्ताले आफ्ना धारणा स्पष्ट पारिरहेको भन्दै उनले सरकारका निर्णयबारे समयक्रममा थप प्रस्टता आउने दाबी गरे।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।