अन्तर्राष्ट्रिय

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ।

यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नेछन्।

विज्ञापन

उनीहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन्।

सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नेछन्।

चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ। उनी शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्कनेछन्।

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो।

सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो।

मिसनका चिनियाँ सदस्य ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसकेका छन्। उनी तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्न्ने सीसीटीभीले जनाएको छ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ।

अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।