गुगलको मूल कम्पनी अल्फाबेटले हङकङ र सिंगापुरको मुद्रामा पहिलोपटक ऋणपत्र जारी गर्दै करिब ३ अर्ब ८० करोड अमेरिकी डलर जुटाउने भएको छ। लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको लक्ष्यभन्दा ठूलो रकम संकलन गर्न लागेको हो।
बिहीबार सार्वजनिक विवरणअनुसार कम्पनीले १६ अर्ब हङकङ डलर (करिब २ अर्ब अमेरिकी डलर) र २ अर्ब २८ करोड सिंगापुर डलर (करिब १ अर्ब ८० करोड अमेरिकी डलर) बराबरका ऋणपत्र बिक्री गर्नेछ।
यसअघि अल्फाबेटले दुवै बजारबाट कुल ३ अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखेको थियो। तर ऋणपत्र खरिदका लागि लगानीकर्ताबाट ७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग आएपछि बिक्री रकम बढाइएको हो।

हङकङ डलरमा जारी ऋणपत्रका लागि ३२ अर्ब ५० करोड हङकङ डलरभन्दा बढीको आवेदन परेको थियो भने सिंगापुर डलरमा जारी ऋणपत्रका लागि ४ अर्ब सिंगापुर डलरभन्दा बढीको माग आएको छ।
कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा लगानी तीव्र बनाइरहेका बेला यो ऋणपत्र बिक्रीलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। प्रविधि कम्पनीका सेयर बजारमा पछिल्लो समय उतारचढाव देखिए पनि अल्फाबेटको ऋणपत्रप्रति लगानीकर्ताको आकर्षण बलियो देखिएको छ।
ऋणपत्र बिक्रीबाट प्राप्त रकम सामान्य कर्पोरेट प्रयोजनमा खर्च गरिने कम्पनीले जनाएको छ। यसमा आवश्यकताअनुसार पुरानो ऋण भुक्तानी गर्ने कामसमेत समावेश हुन सक्नेछ।
अल्फाबेटले हङकङ डलरमा दुई, पाँच र १० वर्ष अवधिका ऋणपत्र जारी गरेको छ। त्यस्तै, सिंगापुर डलरमा दुई, पाँच, १० र ३० वर्ष अवधिका ऋणपत्र बिक्री गरेको छ।
कम्पनीले यसअघि पनि अन्तर्राष्ट्रिय बजारबाट ठूलो रकम जुटाउँदै आएको छ। गत साता मात्रै युरोमा ६ अर्ब युरो बराबरको ऋणपत्र बिक्री गरेको अल्फाबेटले गत अगस्टमा अमेरिकी डलरमा २५ अर्ब डलर तथा अस्ट्रेलियन डलरमा ५ अर्ब ५० करोड डलर बराबरको ऋणपत्र जारी गरेको थियो।
हङकङ र सिंगापुरको ऋण बजारमा प्रवेशसँगै अल्फाबेटले आफ्नो अन्तर्राष्ट्रिय ऋण स्रोतलाई थप विविधीकरण गर्ने रणनीति अघि बढाएको देखिन्छ।
रोएटर्स


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।