चैत्र २९, काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बसाइासराइ र सहरीकरण डरलाग्दो रुपमा बढिरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले बसाइासराइ अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकिएको बताइन् । मन्त्री झाँक्रीले काठमाडौंमा सार्वजनिक स्थलहरू अतिक्रमिण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्नेबारे गहन छलफल आवश्यक रहेको पनि बताइन् ।
‘अहिले हाम्रो लागि बसाइासराइ र सहरीकरण डरलाग्दो विषय हो । तर यो अवसर पनि हो । अवसरलाई हामीले कसरी सदुपयोग गर्छौं भन्ने कुरा पनि आवश्यक छ । २०७८ को तथ्यांक हेर्दा पहाडबाट बसाइासराइ हुने र तराइबाट पनि काठमाडौं लगायत सहरमा बसाइासराइ गर्ने सम्भावना बढिरहेको छ । तर यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा हो । यसलाई अवसरको रुपमा प्रयोग गर्दै हामी अब लामो समयको लागि काम गर्न तयार हुनुपर्छ,' मन्त्री झाँक्रीले भनिन् ।