पुस ६, सिन्धुली । सहरी सडक कायम हुनुपर्ने माग गर्दै मदन भण्डारी राजमार्ग धुराबजार/खट्टारका स्थानीय मंगलबारबाट आन्दोलित भएका छन् ।
धुराबजार पुछारदेखि धुराफाँट, मिलनचोक, शिवालय, साङबाले हुँदै खट्टारसम्मको ६ किलोमिटर सडकलाई सहरी मापदण्डमा पार्न माग गर्दै स्थानीय आन्दोलित भएका हुन् । धुराबजार–खट्टारसडकको दायाँबायाँ एक–एक मिटरको नालासहित ११ मिटर चौडाइमा तीन साताअघिदेखि निर्माण भइरहेको छ ।
राजमार्गको मापदण्ड कायम राख्दा आसपासका घरजग्गा कामै नलाग्ने स्थानीयको भनाइ छ । राजमार्ग कायम राखेर सडक निर्माण गर्दा आसपासका घर तथा जग्गा कामै नलाग्ने हुने आन्दोलरत स्थानीय छेत्र बम्जनले बताए । बजार तथा बस्ती जोगाउन ११ मिटरको सडक कायम भएको भन्दै निर्माण सक्न खोजेको पनि स्थानीयको आरोप छ ।
सडक निर्माण हुने ११ मिटरको दायाँबायाँको घर तथाजग्गा बैंकले धितो नराख्ने, बिक्रीवितरण नहुने र घरनक्सा पास नहुने भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीय हरिशरण श्रेष्ठले सुनाए ।
२५–२५ मिटर दायाँबायाँ राजमार्गको मापदण्ड छ । हालको ११ मिटरमा सरकारले मुआब्जा वितरण गरेको छैन । स्थानीयले कि राजमार्ग हटाएर सहरी सडक कायम गर्नुपर्ने कि मुआब्जा वितरण गरी मापदण्डअनुसार सडक निर्माण गर्नुपर्ने माग अघि सारेका छन् ।
धुरापुछारदेखि सिरानसम्मको एक किलोमिटर सडक ११ मिटरको आधारमा यस अघि नै निर्माण भइसकेको छ ।
राष्ट्रिय गौरवको २५० किलोमिटर लामो राजमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ । राजमार्गलाई उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटर लम्बाईलाई पूर्वी खण्ड र भिमानदेखि हेटौंडा उपमहानगरपालिका–६ चौगडासम्म ११५ किलोमिटर लम्बाईलाई पश्चिम खण्डमा विभाजन गरि निर्माण जारी छ ।