माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा, अधिकतम ११० रुपैयासम्म तिर्नुपर्ने !

 रासस   २३ कार्तिक, २०७८



कात्तिक २३, कास्की । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ ।

बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकारवाला पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा ११० रुपैयाँ कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए । उनका अनुसार सोही मार्गअन्तर्गत पर्ने अन्य स्थानको भाडा पनि समायोजन गरिनेछ ।

यातायात व्यवस्था विभागले गत असार २९ गतेदेखि लागु हुने गरी अन्तरप्रदेश मार्गमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि गाउँपालिकाभित्रका बसले पनि भाडा वृद्धि गरेको थियो । गण्डकी प्रदेशको प्रदेश सवारी तथा यातायात ऐनबमोजिम समितिले भाडा समायोजन नगरेसम्मका लागि अहिले तोकिएको भाडादर लागु हुने बताइएको छ ।

यसैगरी, पोखराबाट टुसे ग्राउन्ड मार्गमा पृथ्वी राजमार्ग बस कम्पनीबाट सञ्चालन हुने बसको भाडादर १०० रुपैयाँ कायम गरिएको र सोहीअनुसार उक्त मार्गको अन्य स्थानको भाडा समेत समायोजन गरिएको गाउँपालिकाले जनाएको छ । “भाडादर कायम नहुँदा बसका कर्मचारी र यात्रुबीच विवाद हुने गरेको थियो । अहिले गाउँपालिकाभित्रका मुख्य मार्गको अधिकतम भाडा तोकेका छौँ,” प्रवक्ता शाहीले भने, “छलफलका आधारमा पुनः यसलाई परिमार्जित गर्दै सबै वडाको भाडा तय गर्नेछौँ ।”

यसैगरी, आगामी मंसिर १ देखि विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी बिहान ५ः०० बजेदेखि गाउँपालिकाबाट बस सञ्चालन गरिने भएको छ । विभिन्न विद्यार्थी संगठनले गाउँपालिकाबाट बिहानको समयमा बस सञ्चालन नहुँदा विद्यार्थीले पोखरामा कोठाभाडामा लिएर बस्नुपर्ने अवस्था आएकाले घरबाटै क्याम्पस जानका लागि बसको व्यवस्था गर्न माग गरेका थिए ।

गाउँपालिकाबाट पोखराका विभिन्न विद्यालय र विश्वविद्यालयमा बिहानी तथा दिवासत्रका विद्यार्थीलाई मध्यनजर गरी मंसिर १ गतेदेखि वडा नम्बर–१ को टुसे ग्राउन्डबाट घाचोक हुँदै पोखरा, वडा नम्बर–५ को हाइड्रोबाट रिभान, लाहाचोक हुँदै पोखरा र वडा नम्बर–८ को लुम्रे र अन्य वडाबाट विद्यार्थी संख्याका आधारमा बिहान ५ः०० बजेदेखि पोखरासम्म बस सञ्चालन हुने प्रवक्ता शाहीले जानकारी दिए । गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक बसले सरकारले तोकेको ४५ प्रतिशत विद्यार्थी छुट परिचयपत्रका आधारमा उपलब्ध गराउन बस कम्पनी सहमत भएका छन् । रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post