कार्तिक २२, काठमाडौं । स्मार्ट सवारी लाइसेन्स वितरणको काम मङ्सिर एक गतेबाट हुने भएको छ ।
विभागले समयमै कार्ड छापेर वितरण गर्न नसक्दा लामो समयदेखि लाइसेन्स वितरणको काम रोकिएको छ । कोभिड महामारीका कारण स्मार्ट लाइसेन्स छपाइको काम ढिलो भएको यातायात विभागका प्रवक्ता लोकनाथ भुषालले बताए ।
अहिले पाँच लाख ८० हजार स्मार्ट कार्ड छाप्न बाँकी रहेको उनले बताए । १४ लाख नयाँ स्मार्ट कार्ड फ्रान्सेली कम्पनी आइडिमियाले विभागलाई उपलब्ध गराउन लागेको पनि उनले बताए । फ्रान्सेली कम्पनीले विभागलाई कार्ड उपलब्ध गराउने र सोही कार्डमा विभागले सेवाग्राहीको विवरण छापेर दिने उनले बताए ।
यी कार्डहरु फागुन मसान्तसम्म विभागले आइपुग्ने भुषालले जानकारी दिए । उनका अनुसार अब आउने कार्डले आगामी असारसम्मको माग धान्न सक्छ ।
विभागले यसअघि करिब २७ करोड रुपैयाँ खर्च गरेर छापेको ३४ लाख स्मार्ट लाइसेन्स काम नलागेपछि विकल्पका रूपमा अस्थायी लाइसेन्स वितरण गरिएको थियो । क्युआर कोडसहितको यो अस्थायी लाइसेन्स एक वर्षको लागि जारी गरिएको विभागले जनाएको छ ।