किसानले मागे उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ !

 कोरखबर   २ पौष, २०७८



पुस २, काठमाडौं । किसानले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग गरेका छन् ।

सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ नतोके उखु किसानको लागत मूल्यसमेत नउठ्ने उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । अध्यक्ष मैनालीले भने, ‘विश्वास छ, यसपटक सरकारले हाम्रो माग सम्बोधन गर्नेछ । उखुको लागत मूल्य पनि नपाउँदा उखु किसान उखु खेतीबाट नै पलायन भइसकेका छन् । सरकारले अझै पनि उखु किसानको लागत मूल्य आउनेगरी न्यूनतम समर्थन निर्धारण नभए बाँकी उखु किसान पनि उखु खेतीबाट पलायन हुनेछन् ।’

तीन वर्षअघि उखुको प्रतिक्विन्टल ५ सय ३६ निर्धारण गरेको थियो । गत वर्ष जम्मा ८ रुपैयाँ बढाएर ५ यस ४४ रुपैयाँ पु¥याइयो । अब ८/१० रुपैयाँ मात्र बढाएर हुँदैन । उखु किसानलाई बचाउन ६ सय ८० रुपैयाँसम्म निर्धारण गर्नैपर्ने अध्यक्ष मैनालीको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले यस वर्षको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि मन्त्रालयले किसान प्रतिनिधि र उखु मिलका प्रतिनिधिसँग छलफल र अध्ययन गरिरहेको बताए । उनले उखु मूल्य कति हुने भन्ने कुरामा मन्त्रालयले टुंगो लाउन नसकेको बताए ।

अध्यक्ष मैनालीका अनुसार गतवर्ष देशभर १ करोड २० लाख क्विन्टल मात्रै उखु उत्पादन भएको थियो छ । यस वर्ष १ करोड ४० लाख क्विन्टलसम्म उखु उत्पादन हुन्छ कि भन्ने अनुमान छ । कञ्चनपुर, महेन्द्रनगरमा राम्रो गुणस्तरको बीउ ल्याएर उखु रोपिएको हुँदा उत्पादन केही बढेको छ । अन्य नवलपरासी सर्लाहीमा भने उखुको उत्पादन घट्दै गएको अध्यक्ष मैनालीको भनाइ छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post