एमाले अन्तर पार्टी निर्देशन : जिम्मेवारी बाँडफाँड, फरक मतलाई अनुमतिविना सार्वजनिक गर्न निषेध

 कोरखबर   २ पौष, २०७८



पौष २, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो । एमालेले विभिन्न विभागका  प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इञ्चार्ज पनि तोकेको छ।

अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् ।

उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन्।

महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभागरप्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाउँदा विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन्।

यस्तै बैठक सञ्चालन कार्यविधि र आचार संहिता २०७१ खारेज गर्दै नयाँ कार्यविधि पनि पारित गरेको छ। पारित भएको कार्यविधिले सदस्यहरुलाई लगाम लगाउने प्रयास गरेको छ। कमिटीको बैठकमा आफ्नो मत अभिव्यक्त गर्दा शिष्ट र संयमित भाषा गर्नुपर्नेछ। आफूले उठाएको विषय पारित नभएको वा अल्पमतमा परेको अवस्थामासमेत कमिटीको निर्णयलाई आफ्नो समेत निर्णय ठानी कार्यान्वयन तत्परता देखाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

त्यस्तै कार्यविधिले आफूले बैठकमा आफूले राखेको फरक मतलाई सार्वजनिक गर्न रोकसमेत लगाएको छ। ‘निर्णयमा असहमत हुने सदस्यले आफ्नो असहमति लिखितरुपमा कमिटीसमक्ष प्रस्तुत गर्नुपर्ने छ।

कमिटीको निर्णय-पुस्तिकामा लिखित रुपमा समावेश भएको असहमतिलाई मात्र फरक मतको मान्यता हुनेछ,’ कार्यविधिमा भनिएको छ, ‘कुनै पनि सदस्यले बैठकमा प्रस्तुत गरेका फरक मत कमिटीको अनुमति वेगर बाहिर सम्प्रेषण गर्नुहुँदैन।'



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post