१४ मङ्सिर, चितवन। नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी मतदानमा १७०० प्रतिनिधिले मतदान गरेका छन्। सहमति नजुटेपछि एमालेको अध्यक्षसहित अन्य पदका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको हो। सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको थियो।
महाधिवेशन निर्वाचन आयोगले मतदानका लागि अझै एक घण्टा समय लाग्ने जनाएको छ। एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन्। आयोगका अनुसार मतदान सकिएको एकघण्टा पछि मत परिणाम आउने छ।
सौराहास्थित होटल सेभेन स्टारमा भइरहेको मतदान केन्द्र परिसरमा प्रतिनिधिहरु लाइन बसेर पालैपालो मतदान गरिरहेका छन्। उम्मेदवारहरुले आफूलाई मत मागिरहेका छन्।
अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन्। अध्यक्ष ओलीले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यको नाम सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेका थिए। तर, रावलले असहमति जनाए। रावललाई उपाध्यक्षमा मनाउन ओलीले कोसिस गरेका थिए। घनश्याम भुसालले पनि ओलीको प्रस्ताव स्वीकार गरेनन्। उपाध्यक्ष र सचिव पदका लागि पनि चुनाव भइरहेको छ।
ओलीको प्रस्तावमा असहमति जनाउँदै अध्यक्षमा रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीलगायत ३० जनाले उम्मेदवारी दिए। ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा असहमति जनाउँदै भुसालले पनि उम्मेदवारी दिए। ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएपछि उपाध्यक्षका लागि पनि चुनाव हुन लागेको हो। ओलीले उपाध्यक्षमा सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका थिए।
यस्तै ७ सचिव पदका लागि ९ जनाको उम्मेदवारी परेको छ। ओलीले सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव गरेका थिए। तर, भीम आचार्य र टंक कार्कीले पनि उम्मेदवारी दिएपछि सचिव पदमा निर्विरोध भएन।
ओलीको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भए। त्यस्तै महासचिवमा शंकर पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन्। उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध भएका छन्। ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भए।