असोज १७, काठमाडौं । काठमाडौं उपत्यकाको छोटो दूरीमा चल्ने सवारी साधनले आफूखुसी भाडादर तोक्न थालेका छन् । उपत्यकाका यातायात व्यवसायीले केही दिनयता आफूखुसी भाडा तोक्न थालेका हुन् ।
पछिल्लो समय छोटो दूरीमा चल्ने सवारी साधनले १४ रुपैयाँ पर्ने गाडीभाडा २० रुपैयाँ र २० रुपैयाँ पर्ने गाडी भाडा बढाएर ३० रुपैयाँसम्म पुर्याएका छन् । यात्रुले सोधीखोजी गरेमा देखाउनलाई बढेको भाडाको नक्कली सूची समेत सवारीमा राख्दै आएका छन् ।
व्यवसायीले आफूखुसी भाडा तोकेर यात्रु ठगेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिनमा ११९ वटा सवारीलाई सामान्य कारबाही गरिसकेको छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्माले हिजो ९शनिबार० ६५ र आज आइतबार ५४ वटा सवारीलाई कारबाही गरेको बताएका छन् ।
‘यात्रुबाट महँगो भाडा लिएको उजुरी परेपछि लिएको बढी भाडा फिर्ता गराउँदै आएका छौं । तर, आज ५४ वटा सवारीले भाडा फिर्ता नगर्ने भन्दै सडकमै सवारी छाडेर चालक र सहचालक हिँडेका छन्,’ उनले भने । ट्राफिक प्रहरीले अहिले बढी भाडा लिने सवारीलाई भाडा फिर्ता गराउँदै र सम्झाएर छाड्दै आएको छ । भाडा फिर्ता गर्न नमान्ने सवारीको कागजपत्र हेर्ने र आवश्यक परे यातायात व्यवस्था विभागमा पठाउँदै आएको शर्माले बताए ।
यता, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे छोटो दूरीको सवारी भाडा बढाउने कुनै पनि निर्णय नभएको बताउँछन् । ‘उपत्यकाको सवारी भाडा बढाउने अधिकार बागमती प्रदेश सरकारसँग छ । तर, प्रदेश सरकारले अहिलेसम्म भाडा बढाएको निर्णय गरेको छैन’ उनले भने ।
प्रदेशले नै भाडा बढाउने निर्णय नगरेकाले उपत्यकाका छोटो दूरीका सवारीले आफूखुसी भाडा तोक्दै यात्रु ठग्न थालेको पाइएको विभागले जनाएको छ । यस सम्बन्धी आवश्यक छानबिन र कारबाही भइरहेको महानिर्देशक घिमिरेले जानकारी दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि छोटो दूरीको सवारी भाडा बढेको सम्बन्धी कुनै जानकारी नरहेको बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले अहिलेसम्म भाडा वृद्धिसँग सम्बन्धित कुनै पनि जानकारी नआएको बताए ।
तर, प्रदेश सरकारले भाडा समायोजनमा ढिलासुस्ती गर्दा व्यवसायी आजित भएको र आफूखुसी भाडा बढाएको हुन सक्ने महासंघको भनाई छ । संघीय सरकारले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश सवारीको भाडा समायोजन गरिसकेको छ ।
उक्त मितिमा यात्रुबाहक सवारीको भाडा २८ प्रतिशतसम्म बढेको थियो । तर, प्रदेश भित्र चल्ने छोटो दूरीका सवारीको भाडादर भने समायोजन भएको छैन । अहिलेसम्म दुई वटा प्रदेशले मात्रै भाडादर समायोजन गरेका छन् । बाँकीले भाडा बढाएका छैनन् ।