एकीकृत समाजवादीमा ३० सांसद र ६० केन्द्रीय सदस्यले गरे हस्ताक्षर

 कोरखबर   ९ भदौ, २०७८



भदौ ९, काठमाडौँ– नेकपा एमाले विभाजन गरेर नयाँ बन्न लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ६० जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदका सांसदहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि आयोगले बुधबार आयोगले सनाखत गराएको छ । सनाखतका क्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी ३० जना सांसदले सनाखत गरेको सांसद पार्वती विसुंखेले दावी गरिन् । उनका अनुसार ६० जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।

दल विभाजन गर्न पाइने व्यवस्था गरिएपछि माधव समूहलाई एमाले विभाजन गर्न सहज भएको हो । निर्वाचन आयोगमा सनाखत भएको संख्या सांसदमा अपुग भए पनि केन्द्रीय सदस्यमा भने पुगेको छ । राष्ट्रिय सभामा ३३ र प्रतिनिधि सभामा १२१ गरी एमालेका १५४ सांसद थिए । त्यसको २० प्रतिशत पुर्याउन माधव समूहलाई ३१ जना आवश्यक थियो ।

तर ३० जनालेमात्र सनाखत गर्दा उसले संसदीय दलमा २० प्रतिशत पुर्याउन सकेन । यस्तै साविकको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्याउन ४१ जना आवश्यक पर्नेमा ६० जनाले सनाखत गरेकाले अब केन्द्रीय सदस्यको संख्याका आधारमा सो दलले वैधता पाउने देखिएको ।

सनाखत सकिएपछि आजै निर्वाचन आयोगले यो विषयमा केही निर्णय लिन सक्ने सम्भावना छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बेलुकासम्म कुनै निर्णय हुन सक्ने बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post