श्रावण १९, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको छ। कोटेश्वर खरिबोटस्थित माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको घरमा बिहान ९ बजेदेखि दाहाल–नेपाल वार्ता चलिरहेको हो।
एमालेको दुवै समूहका नेताहरुले माधव नेपाल र केपी ओलीको भेटवार्ता गराउने प्रयास गरिरहेका बेला दाहाल–नेपालबीच वार्ता चलेको हो। प्रचण्डले एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरत गरिरहेका छन् तर नेता नेपाल त्यसमा सहमत भैसकेका छैनन्।
माधव समूहले सरकारमा जाने नजाने निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन। माधव समूह अनिर्णित हुँदा सत्ता गठबन्धनलाई मन्त्रालय भागबण्डा लगाउन सकस परिरहेको हो।
आजै ओली–नेपाल वार्ता हुने दाबी नेताहरुले गरे पनि अहिलेसम्म समय र स्थान निश्चित भएको छैन। ओलीसँग भेटवार्ता इन्कार गर्दै आएका नेता नेपाल पछिल्लो समय वार्ताका लागि सहमत भएको दाबी नेताहरुले गरिरहेका थिए।
नेपालले सोमबार आफूनिकट नेताहरुसँगको छलफलमा सम्मानजनक एकताका लागि तयार रहेको बताएका थिए।