प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता !

 कोरखबर   ३ सावन, २०७९



साउन ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीबाट केही दिनअघि मात्रै पदमुक्त गरिएका डा बाबुराम भट्टराईबीच भेट जारी छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा भेट भइरहेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए।

७ वर्षअघि माओवादी परित्याग गरेर नयाँ शक्ति गठन गरेका भट्टराई त्यसपछि एकता प्रक्रियामार्फत् समाजवादी पार्टी र जसपाको संघीय परिषद् अध्यक्ष भइसकेका छन्। तर, जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढ्दै गएपछि उनले केही समय अघिदेखि प्रचण्डसँग संवाद अघि बढाएका छन्। यसअघि दुई नेताबीच उपराष्ट्रपति निवासमा छलफल भएको समाचार सार्वजनिक भएका थिए।

दुई नेताहरु एक ठाउँमा उभिनुपर्ने आवाज उठ्ने गरेको छ। प्रचण्डले पूर्वमाओवादी नेताहरु एक ठाउँमा आउनुपर्ने आशयको अभिव्यक्ति दिँदै आएका छन्। तर, पार्टी छाड्ने बेलामा माओवादीलाई रातो स्टिकर टाँसिएको घरको संज्ञा दिएका भट्टराईले भने यसबारे खासै बोलेको पाइँदैन।

७ वर्षयताका विभिन्न प्रयोगहरु असफल भइसकेको चर्चाबीच उनी माओवादीमा फर्किने वा वामपन्थीहरुलाई मिलाएर नयाँ पार्टी बनाउने आकलन हुँदै आएको छ। यसअघि उनले यथाकदा समाजवादी केन्द्रको आवश्यकता औंल्याउने गरेका छन्। माओवादी केन्द्र, जसपाको भट्टराई पक्ष, नेकपा एकीकृत समाजवादीबीच अहिले निकटता देखिँदै आएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post