श्रावण १३, काठमाडौं । नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुले दल त्याग नगरेको र माओवादीकै नेताहरु रहेको दाबी गरेका छन् ।
मन्त्री बन्ने लोभमा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका उनीहरु सांसद र मन्त्री दुवै पदबाट हात धुनुपरेपछि माओवादीमा फर्कन लागेको भन्ने आरोप लागिरहेका बेला उनीहरुको उक्त दाबी सार्वजनिक भएको हो ।
साविक नेकपाका बेला अध्यक्ष केपी शर्मा ओली समूहका रहेका उनीहरु गत फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी ब्यूँतिएपछि उनीहरु एमालेमै रहेका थिए ।
एमालेको केन्द्रीयदेखि स्थायी कमिटी सदस्यसमेत भएपछि नेकपा माओवादी केन्द्रको कारबाहीमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी प्रतिनिधि सभा सदस्य र रामबहादुर थापा बादल राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए ।
तर, अहिले रायमाझी, भट्ट, साह र चौधरीले आफूहरुले दल त्याग नगरेको भन्दै सांसदमा पुनर्वहालीका लागि परमादेश माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । माओवादीको कारबाहीका कारण उनीहरु सांसद र मन्त्री पद गुमाउनु परेको थियो ।
गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डको पत्राचारका आधारमा संघीय संसद सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने गरेको निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको उनीहरुको दाबी छ ।
सोही दाबी गर्दै उनीहरुले आफूहरुलाई परमादेशबाट सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
आफूहरूले दल त्याग नगरेको र गत असार २३ गते निर्वाचन आयोगले दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको दाबी गर्दै सांसद पदब खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने उनीहरुको जिकीर छ । सोही रिटमाकिो सुनुवाइका लागि विहीबारका लागि पेसी तोकिएको छ ।