निर्वाचन आयोगको निर्णयपछि ठाकुर–महतो पक्षको बैठक बस्दै

 कोरखबर   ३१ जेठ, २०७८



जेठ ३१, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवैपक्षको निर्णयलाई आधिकारिकता नदिने निर्णय गरेसँगै अध्यक्ष महन्थ ठाकुर पक्षले बैठक बोलाएको छ।

आयोगको आइतबारको बैठकले पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक–अर्कालाई कारबाही गरेको निर्णयसहित पदाधिकारी हेरफेर गर्न दिएका दुवै निवेदनलाई आधिकारिक मान्न नसक्ने निर्णय गरेको थियो।

आयोगको निर्णयपछि अध्यक्ष ठाकुर–राजेन्द्र महतो पक्षले बैठक बोलाएको हो। सोमबार दिउँसो साढे १ बजेपछि बस्ने गरि बैठक बोलाइएको छ। पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एवं उक्त पक्षका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार कार्यकारिणी र सांसदहरुको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा बस्नेछ।

कर्णले संवैधानिक आयोगले गरेको निर्णय कानुन अनुसार नै रहेको बताए। तर अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका नेता मोहम्मद इस्तियाक राईले भने निर्वाचन आयोगको निर्णय ‘सेटिङ’ मा भएको दाबी गरे। 

आयोगले साविकका दुवै अध्यक्ष कायम रहने निर्णय गरेको थियो। ’विधानतः केन्द्रीय समितिका दुईजना अध्यक्ष केन्द्रीय कार्यकारिणी समितिमा रहने व्यवस्था भएकोमा एक जना अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भई अर्का अध्यक्ष महन्थ ठाकुरसमेत चारजना पदाधिकारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको र अर्का अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरबाट अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको देखिन्छ। एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भनी भन्न सकिएन,’ आयोगको निर्णयमा उल्लेख छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post