सरकारमा जाने जसपाको संकेत , मन्त्रीको सूचीसमेत तयार

 कोरखबर   १७ सावन, २०७८



साउन १७, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ । पार्टीअध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवकै नेतृत्वमा जसपा सरकारमा सहभागी हुने भएको हो । शनिबार मात्रै संसदीय दलको नेता सर्वसम्मत चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने निर्णय भएको जसपाका एक नेताले जानकारी दिए ।

यादवले आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउने खबर प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाईसकेको स्रोत बताउँछ ।

जसपाले आफ्नो भागमा ७ मन्त्रालय परेको भन्दै मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार गर्न छलफल पनि गरिरहेको छ । अहिले तयार गरिएको सूची ‘फाइनल’ जस्तै रहेपनि अन्तिम रुप दिन भने बाँकी रहेको जसपाको नेताहरु बताउँछन् ।  

अहिले सरकारमा सहभागी बनाउनका लागि अध्यक्ष यादवले नेताहरू महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम तय गरेका छन् । राय यादव पार्टी विवादमा महन्थ ठाकुर समूहबाट आफूतिर आएको र सिनियर नेता भएकाले मन्त्रीमा लैजाने निश्चित गरेका हुन् । श्रेष्‍ठको नाम यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुँदा पनि अन्तिम समयमा काटिएको थियो । 

त्यस्तै महिलाबाट रेणु यादवको नाम मन्त्री बन्नेहरूको सूचीमा छ । पार्टीले आधिकारिकता पाउने बेलामा ठाकुर समूह छोडेर आएका प्रमोद साहलाई सकभर विभागीय मन्त्री नभए राज्यमन्त्री बनाउने भन्दै सूचीमा राखेका छन् । 

राजकिशोर यादव र रामसहाय यादवमध्य एक जनालाई मन्त्री बनाउने तयारी छ । रामसहाय आफ्ना विश्वास पात्र तथा राजकिशोर ठाकुरलाई छोडेर आफूसँग आएकाले कसलाई बनाउने भन्नेमा यादव अप्ठेरोमा छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गराउन त्यहाँबाट इस्तियाक राई/अमृता अग्रहरीमध्ये एक जनालाई मन्त्री बनाउने अध्यक्ष यादवले निकटस्थ नेताहरूलाई बताएका छन् । जसपामा ठाकुरकी विश्वासपात्र मानिने अग्रहरी केही दिन अघि मात्रै यादव समूहमा खुलेकी थिइन् । उनलाई जसरी भए पनि मन्त्री दिनुपर्ने दबाबमा यादव छन् ।

क्षेत्रीय र भेगीय सन्तुलन मिलाउन पर्ने भएकाले प्रदेश-१ बाट प्रमिला यादव पनि मन्त्री बन्न सक्ने सभावित सूचीमा परेकी छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post