फागुन २४,काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने भन्दै ओली–दाहाललाई दिइएको नेकपा खारेज गर्दिएपछि मर्माहत भएको दाहाल–नेपाल पक्ष निर्णय पुनरावलोकनमा जाने भएको छ ।
केपी ओली पक्षले सर्वोच्चको फैसला स्वागतयोग्य भन्दै नेकपा एमाले ब्युँताउने तयारीमा जुट्दा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष भने फैसलाको पुनरावलोकन माग्न अदालत जाने निष्कर्षमा पुगेको हो ।
खासगरी सर्वोच्चको फैसलाले पूर्ववत एमाले र माओवादी केन्द्र ब्युँतदा माधव नेपाल पक्षलाई ठूलो असर पर्ने देखिएको छ । एमालेका नेता नेपाल, नेकपा बनेपछि दाहालसँगको समीकरणमा हुनुहुन्छ ।
यसले माधव नेपाल पक्षको राजनीतिक भविष्य के हुने भन्ने प्रश्न जटिल बनेको छ । यस्तोमा कानुन व्यवसायीहरुसँगको परामर्शपछि फैसला पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको हो । जसलाई आज बस्ने स्थायी कमिटी बैठकबाट निर्णय लिनसक्ने बताइएको छ ।
आइतबारको फैसलाले हाल ओली पक्षमा रहेका पूर्व माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीहरुको राजनीतिक हैसियत पनि के हुन्छ भन्ने प्रश्न उठेको छ ।