१४ फाल्गुन, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । पुन राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ परेका हुन् ।सरकारसँग वार्ताका लागि यो समुहले पक्राउ गरेका नेता रिहाइको सर्त राखेको छ । सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।