राप्तीमा विप्लवको समुहको शैक्षिक हड्ताल !

 कोरखबर   २६ माघ, २०७७



२६ माघ, दाङ। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनले सोमबार दाङसहित साविक राप्तीमा शैक्षिक हड्ताल गरेको छ।

प्रतिबन्धित पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०ले सोमबार दाङसहित साविक राप्तीमा शैक्षिक हड्ताल आह्वान गरेको हो।

अखिल क्रान्तिकारी दाङका संयोजक अनिल केसीले आइतबार जारी गरेको विज्ञप्तिमा रुकुम पश्चिम लगायत राप्ती क्षेत्रमा प्रशासनद्वारा विद्यार्थीहरूमाथि भएको गैरन्यायिक गिरफ्तारी र दमनको विरोध एवम्‌ गिरफ्तार भएकाहरूको रिहाइ माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेको उल्लेख छ।

यहि माघ १८ गते अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बोहोरा, कोषाध्यक्ष धन बहादुर वली, र १९ गते संगठन रुकुम पश्चिमका उपाध्यक्ष सोमपाल कामी र सह–सचिव प्रकाश विकलाई गिरफ्तार गरी हिरासतमा राखिएकाले रिहाइ माग गर्दै शैक्षिक हड्ताल घोषणा गरेको युनियनले जनाएको छ।

त्यस्तै, सो संगठनले बैतडी जिल्लामा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिइ कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post