माघ ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला,जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् ।
नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।’ अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे ।
कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे । उनले भने, ‘हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन ।’ रासस