पुष २८, काठमाडौं । विवेकशील पार्टीले माइतीघर मण्डलमा संसद विघटन विरुद्ध दाँत माझेर प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको र अधिनायकवाद लादेको भन्दै विवेकशीलले प्रदर्शन गरेको हो।
विवेकशीलले हरेक दिन माइतीघर मण्डलमा पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर सरकार र प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरिरहेको छ। पार्टीको नेता शशीविक्रम कार्कीले बुधबार पनि प्रदर्शन जारी रहने जानकारी दिएका छन्।
" प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको रोस्ट्रममा उभिएर थुक्नु सार्वजनिक स्वास्थ्यको लागि हानिकारक त छ नै, सार्वजनिक शिष्टताको हिसाबले पनि उचित होइन," उनले भने, " प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र त्यो अभ्यास गर्ने थलो संसदमाथि थुक्न खोज्नु भएको हो भन्ने प्रश्न उठ्छ।"