सिपिएलका लागी सन्दीप बिहीबार उड्ने पक्का

 कोर खबर   १४ सावन, २०७७



काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् ।  कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो जान लागेको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । यसअघि हवाई उडानको यकिन नहुँदा उनी टोबागो जानेबारे अन्योल थियो ।

बिहीबार उड्ने पक्कापक्की छ, अब कुनै द्विविधा छैन”, शिवाकोटीले भने । सरकार र अन्य विभिन्न निकायबाट सहयोग प्राप्त भएपछि सन्दीप टोबागो जान सहज भएको उनले बताए । टोबागो उड्नुअघि उनले मङ्गलबार पिसिआर परीक्षण गराएका छन् । सन्दीपले सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षणका लागि दिएका छन् । परीक्षणको नतिजा आज आउने व्यवस्थापक शिवाकोटीले बताए । 

सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्नेछ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेपछि सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको थियो । सरकारले सहयोग गरेकै कारण सन्दीपको टोबागो यात्रा सहज भएको हो । उनले टोबागो पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । 

सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो । उनी उक्त टिमको मार्की खेलाडी पनि हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् । सिपिएल आगामी भदौ २ देखि भदौ २५ गतेसम्म चल्नेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post