राखेप बोर्ड बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्रीद्वारा अस्वीकार

 कोरखबर   २० माघ, २०७८



माघ २०, काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गर्नुभएको छ । 

आज बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गर्नुभएको हो । परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरूले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।

ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत पाँच महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषदमा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको उहाँले बताउनुभयो ।

बोर्ड सदस्य कुँवरले भन्नुभयो, ‘परिषद्को बैठक बस्न सकेको छैन, यसका लागि मन्त्रीसँग यसको निकास मागेका थियौँ । तर उहाँले भेट्न चाहनुभएन । हामीले ज्ञापनपत्र बुझाएका छौँ र बैठक नबसेको झन्डै डेढ वर्ष हुन लागेको छ । त्यस कारणले गर्दा यो बोर्डको बैठक छिटो भन्दा छिटो बोलाइयोस् भनेर अनुरोध गरेका छौँ । उहाँको भनाइअनुसार अहिलेको अवस्थामा सदस्य सचिव नभएकाले गाह्रो छ भन्नुभएको छ । तर ऐनअनुसार हामीले बुझेको उपाध्यक्ष बिना पनि बोर्डको बैठक बसाउन सक्नुहुन्छ । हामीले खेल र खेलाडीका लागि खेलकुद परिषदभित्रको अन्योल अवस्थाको निकासका निम्ति आह्वान गरेका छौँ ।’  

त्यस्तै नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेश पौडेलले परिषदमा अहिले कर्मचारीहरूले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाउनुभयो । उहाँले राखेपले नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिङ्ग भइरहेको बताउनुभयो । उहाँले खेलाडी र खेलमा राजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गर्नुभयो ।

अध्यक्ष पौडेलले खेल क्षेत्रमा छाएको अन्योल अवस्थाको निकासका निम्ति राष्ट्रिय खेलकुद महासङ्घका सदस्यहरूले मन्त्रीलाई भेट्ने समय मागे पनि नभेटेको बताउनु भयो । उहाँले खेलकुद मन्त्रीको यस्तो व्यवहारले खेलाडीहरूको आत्मबल घट्दै गएको पनि बताउनुभयो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post