रोमाञ्चक खेलमा चेल्सीविरुद्ध लिभरपुलको ५ गोल,उचाल्यो ट्रफी

    ८ सावन, २०७७



लिभरपुल — च्याम्पियन लिभरपुलले बुधबार एनफिल्डमा इंग्लिस प्रिमियर लिगको ट्रफी उचालेको छ । बुधबारको खेलमा उसले चेल्सीमाथि ५–३ को रोमाञ्चक जित पनि निकालेको छ । लिभरपुल पूरा सिजन घरमा अपराजित पनि रह्यो । उसका लागि पहिलो हाफमा नेबी केइटा, ट्रेन्ट एलेक्जान्र आर्नोल्ड र जर्जिनोले गोल गरे ।

ओलिभर जिरोडले एक गोल फर्काएयता रोबर्टो फिरमिनोले चौथो गोल गरे । टामी अब्राहिम र क्रिस्टियन पुलिसिचले दुई गोल गरेपछि चेल्सीले खेलमा फर्कने छाँट देखाएको थियो, तर एलेक्स अक्सले च्याम्बरलिनले लिभरपुलका लागि पाँचौं गोल गर्दै जित निश्चित गरे । लिभरपुलले लिगको घरमा खेलेका १९ खेलमध्ये १८ मा विजयी रह्यो ।

जितसँगै लिभरपुलको ९६ अंक पनि भएको छ । लिभरपुलले अन्तिम खेल आइतबार न्युकासल युनाइटेडसँग खेल्नेछ ।

चेल्सी भने ६३ अंकसहित चौथो स्थानमा रह्यो र अब उसलाई युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन थप एक अंक मात्र आवश्यक हुनेछ । उसको अन्तिम खेल उल्भ्सविरुद्ध रहेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामसँग १–१ को बराबरी खेलेको थियो ।

म्यानचेस्टरको पनि समान ६३ अंक छ र तेस्रो स्थानमा छ । च्याम्पियन्स लिग छनोटका लागि उसले आफ्नो अन्तिम खेलमा लेस्टरको सामना गर्नेछ । लेस्टर ६२ अंकसहित पाँचौं स्थानमा छ । त्यस खेलमा म्यानचेस्टरलाई कम्तीमा बराबरी आवश्यक पर्नेछ । वेस्ट ह्याम भने ३८ अंकसहित १५ औं स्थानमा रह्यो र रेलिगेसनबाट बच्ने निश्चित गर्‍यो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post