समाज

मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्।

उत्सवका नाममा गरिएको यस्ता लापरबाहीले सम्पदा जोखिममा पर्नुका साथै जनस्वास्थ्यमा समेत गम्भीर असर पुगेको भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन्।

न्हुदँया भिन्तुना र्‍याली (नेपाल संवत् ११४७ नयाँ वर्ष) का सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा पटाका पड्काएका थिए।

विज्ञापन

ऐतिहासिक काठका मक्किएका संरचना वरिपरि बारुदजन्य पटाका पड्काइँदा निस्किएको आगोको झिल्कोले मन्दिरमै आगलागी हुनसक्ने त्रास बढाएको हो।

पटाका पड्काउने क्रममा एउटा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

समयमै होस पुर्‍याइएकाले सम्भावित मानवीय क्षति र आगलागी हुनबाट जोगिएको थियो। उक्त पटाका मन्दिरको पुरानो काठमा परेको भए अपूरणीय क्षति हुनसक्ने प्रत्यक्षदर्शीको भनाइ छ।

घटनास्थलमा सुरक्षाकर्मी उपस्थित भए पनि पटाका पड्काउनेहरूको भिड नियन्त्रण गर्न सकेनन्। पटाका रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफूहरू सङ्ख्यामा थोरै भएको र पड्काउनेहरूको सङ्ख्या धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए।

दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना जारी गरेको र केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि यस्ता गतिविधि पूर्ण रोक्न नसकिएको प्रहरीको भनाइ छ।

सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि स्थानीय केपी छुस्याकीले लेखेका छन्, ‘सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुमाउँदा मानिसमा विवेक हराउने रहेछ। भव्य काठका संरचनाको बीचमा बारुदसँंग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार हो।’

अर्का स्थानीय अनिल पाउँले सामाजिक सञ्जालमा आएका भिडियोका आधारमा पटाका पड्काउने समूहको पहिचान गरी सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।

टौमढीका स्थानीयवासी सत्य शर्माका अनुसार मध्यरातिसम्मको चर्को आवाज र धुवाँले गर्दा स्थानीयले सुत्न समेत पाएनन्। चाडपर्वका नाममा भएको यस्तो गतिविधिले बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई ठूलो सास्ती भएको उनले बताए।

पटाकाको धुवाँका कारण स्थानीयवासीलाई श्वास फेर्न समेत कठिन भएको थियो। वातावरणविद् तथा स्वास्थ्यकर्मीका अनुसार पटाकाको धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा हानिकारक धातुका कण हुन्छन्। यस्ता प्रदूषकले आँखा, नाक र घाँटीमा जलन, खोकी, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउँछन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस्ता सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायतका स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

यद्यपि एकपटकको धुवाँले नै क्यान्सर हुने नभए पनि बालबालिका, ज्येष्ठ नागरिक र मुटुरोगीलाई यसले तत्काल उच्च जोखिममा पार्छ।

विश्वसम्पदा क्षेत्रको संरक्षण राज्यको मात्र नभई नागरिकको पनि दायित्व भएको भन्दै स्थानीयले यस्ता गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन र जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताएका छन्।

तिहारको अन्तिम रात टौमढी क्षेत्रमा यस्ता जोखिमपूर्ण गतिविधि नदोहोरिऊन् भन्ने स्थानीयवासीको माग छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।