सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे इनरुवा नगरपालिका-५ बलाहास्थित भित्री सडकमा दुर्घटना भएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्रीसहित ६ जना घाइते भएका थिए। घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका-९ निवासी सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको हो। चिकित्सकले साँझ पौने ६ बजे उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा घाइते हुनेमा स्कुटर चालक इनरुवा नगरपालिका-७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका-३ का २२ वर्षीय सागर सरदार तथा मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार रहेका छन्।
त्यस्तै, साइकलयात्री इनरुवा नगरपालिका-५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन्।
घाइते पाँचै जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।