तमिना विद्यालय जाँदै थिइन्। छेवैमा एउटा बडेमानको बगैँचा थियो। बालबालिकादेखि वृद्धवृद्धासम्म सडक र बगैँचामा यताउता गरिरहेका थिए। उनका पाइला पनि अघि बढ्दै थिए। सडकको कुनामा एउटा पर्खाल थियो। पुरानो पर्खालमा झारहरू उम्रिएका थिए। त्यहाँ उनले एउटा चम्किलो वस्तु देखिन्। तमिना टक्क रोकिएर हेर्न थालिन्। उनका आँखा अचम्मले ठूला भए।
त्यहाँ एउटा ठूलो जालो थियो। जालो निकै कलात्मक देखिन्थ्यो। चाँदीको तारजस्तै टल्किरहेको थियो। बिहानीको ओसले त्यसलाई सजाएको हुनुपर्छ भन्ने अनुमान उनले गरिन्। जालोको बीचमा एउटा जीव थियो। त्यो माकुरो थियो, तर अनौठो। तमिनाले आजसम्म त्यस्तो माकुरो देखेकी थिइनन्। त्यसको शरीर निकै ठूलो थियो।
माकुराका आँखाहरू निकै काला थिए। ती आँखाले तमिनालाई हेरिरहेका थिए। उनको मनमा कुतकुती लाग्यो।
विज्ञापन
माकुरोको रङ पनि एकदमै नयाँ थियो। गोल्डेन ओर्ब स्पाइडर नामको त्यो माकुराको ढाडमा सुनौला धर्का थिए। ती सुनजस्तै टल्कन्थे। शरीर क्रिम रङको थियो भने टाउको कालो। त्यसका आठवटा खुट्टा पनि लामा थिए। ती खुट्टा कहिले पारदर्शी सिसाजस्ता लाग्थे त कहिले रगत भरिएको पानीको झिल्काझैँ। माकुरो बिस्तारै जालोमा हल्लियो।
तमिना अझ नजिक गएर हेरिन्। उनको मनमा एउटा प्रश्न जन्मियो, ‘तिमी मलाई देखेर हाँसेका हौ?’ तमिनाले आफ्नै मनलाई प्रश्न गरिन्। माकुरोले आफ्नो अगाडिको खुट्टा उठायो। मानौँ, उसले अभिवादन गर्दै थियो। माकुरोको मुखमा एउटा रेखा देखियो। त्यो मुस्कानजस्तै लाग्थ्यो। तमिनालाई निकै रमाइलो महसुस भयो।
‘अहो! कस्तो राम्रो जीव रहेछ,’ उनले मनमनै भनिन्। माकुराका आँखाहरू निकै काला थिए। ती आँखाले तमिनालाई हेरिरहेका थिए। उनको मनमा कुतकुती लाग्यो। उनले बिस्तारै आफ्नो हात बढाइन्। उनलाई त्यो जालो छुन मन लाग्यो। जब उनले छोइन्, माकुरो अचानक शान्त भयो।
सुन्दर माकुरोको डरलाग्दो रूप
मौसममा केही परिवर्तन आउन थाल्यो। आकाशमा एउटा कालो बादल देखियो। घामको किरण अचानक त्यस ठाउँबाट हरायो। पर्खालको छाया अलि गाढा भयो। जालोको चमक पनि बिस्तारै हरायो। माकुरोको शरीरमा हलचल सुरु भयो। अब भने त्यसले आफ्नो रङ फेर्न थाल्यो। सुनौला धर्काहरू काला देखिन थाले।
तमिनाको शरीरमा काँडा उम्रिए। उनलाई डरले सातो लिएझैँ भयो।
हेर्दाहेर्दै त्यो दृश्य तमिनालाई भयावह लाग्न थाल्यो। उनको मनमा डर पलाउन थाल्यो। माकुरोको अनुहार झन् ठूलो भयो। अघिको मुस्कान अब भयानक देखिन थाल्यो। त्यहाँ डरलाग्दा दाँत देखिए। उसका आँखा राता भए। ती आँखाबाट आगो निस्किएझैँ लाग्यो। माकुरो अब शत्रुजस्तै देखिन थाल्यो। तमिनाको शरीरमा काँडा उम्रिए। उनलाई डरले सातो लिएझैँ भयो।
तमिना पछाडि हट्न खोजिन्। तर उनका गोडा चल्दै चलेनन्। उता माकुराका लामा खुट्टाहरू भने हल्लिन थाले। माकुरो जालोबाट बाहिर निस्कन खोज्यो। उसले एउटा नमिठो आवाज निकाल्यो। त्यो आवाज निकै तिखो थियो। तमिनाको मुटु जोडले ढुकढुक भयो। उनको अनुहार कालोनीलो भयो। के गरूँ, के नगरूँ भन्ने छटपटी हुन थाल्यो।
‘मलाई बचाऊ!’ उनी जोडले चिच्याउन खोजिन्। तर उनको मुखबाट आवाज निस्केन। आफू बोल्न नसक्ने कुरा नै उनले बिर्सिएकी थिइन्। एकाएक ठूलो दबाब परेर होला, उनको घाँटी निकै सुक्यो। माकुरो झन् नजिक आएझैँ लाग्यो। उसको अनुहार निकै डरलाग्दो देखियो। तमिनाका आँखामा आँसु भरिएर आए। केही उपाय नलागेपछि उनले निकै जोडले आँखा चिम्लिइन्।
करिब १० मिनेट दौडँदा उनको फोक्सो फुलेको थियो। पछाडिबाट माकुरो आएको छ कि छैन भनेर उनले एकपटक पनि फर्केर हेरिनन्।
अब भने उनलाई त्यहाँबाट भाग्नुको विकल्प देखिएन। तमिना तीव्र गतिमा दौडिइन्। उनको झोला काँधमा हल्लिरहेको थियो। केही मानिस अचम्म मानेर हेरिरहेका थिए। कसैले केही सोधेनन्, सोध्ने आँट पनि गरेनन्। उनी ठाउँठाउँमा बाटामा ठोक्किन पुगिन्। तर दौडन भने छोडिनन्। तमिना यसरी दौडिइरहेकी थिइन्, मानौँ आफूले फेरेको साससमेत उनलाई थाहा थिएन। करिब १० मिनेट दौडँदा उनको फोक्सो फुलेको थियो। पछाडिबाट माकुरो आएको छ कि छैन भनेर उनले एकपटक पनि फर्केर हेरिनन्।
बाटो बिराउँदाको अलमल
सडकमा मानिसहरूको भीडभाड थियो। तर पनि तमिनाले कसैलाई देखिनन्। गाडीहरूको आवाज पनि उनले सुनिनन्। उनी केवल माकुरोबाट उम्कन र ज्यान जोगाउन चाहन्थिन्। बेसुरमा दौडिएकी उनी कुन बाटो जाने भनेर अलमलिइन्। नयाँ बाटो देखेपछि ‘अब म हराउँछु’ भन्ने लागेर रोकिइन्। उनलाई माकुरोको भन्दा हराउने डरले जित्यो। सधैँ हिँड्ने बाटो हराइसकेको थियो। होसमा आउँदा उनी एउटा गल्लीभित्र पुगेकी थिइन्। त्यसपछि क्षणभरमै अर्को गल्लीमा छिरिन्। अब सबैथोक नयाँ थियो!
घर र विद्यालयबीचको दूरी करिब १५ मिनेट मात्रै भएकाले बुबाआमाले नभ्याउँदा उनी आफैँ विद्यालय जाने-आउने गर्थिन्।
तमिना पहिलोपटक विदेश पुगेकी थिइन्। लामो समयदेखि बुबाआमा विदेशमा भए पनि केही महिनाअघि मात्रै उनलाई पनि आफूसँगै ल्याएका थिए। विकसित देश, नयाँ परिवेश। त्यसैले तमिना अलमलमा परिन्। यसअघि विद्यालय जाने र घर फर्कनेबाहेक उनको दैनिकी खासै फरक थिएन। घर र विद्यालयबीचको दूरी करिब १५ मिनेट मात्रै भएकाले बुबाआमाले नभ्याउँदा उनी आफैँ विद्यालय जाने-आउने गर्थिन्।
गल्ली कटेपछि तमिनाले सामुन्नेमा फराकिलो सडक देखिन्। त्यहाँ अग्ला-अग्ला भवन थिए। ठूलो सडकमा धेरै सवारीसाधन गुडिरहेका थिए। अनेक थरीका गाडी देखेर उनी मख्ख परिन्। तर उनी विद्यालय पुग्ने बाटोमा भने थिइनन्। घरी दायाँ, घरी बायाँ हेरिन्। त्यसपछि चारैतिर आँखा दौडाइन्। तर पनि विद्यालय कतै देखिनन्। उनका वरिपरि अनेकौँ अनौठा मानिस थिए। तिनीहरू अर्कै भाषामा बोलिरहेका थिए। तमिनाको मनमा फेरि डर पलायो।
चर्को घामबाट जोगिँदै त्यहाँ पुगेर थचक्क बसिन्। उनको सास छिटोछिटो चलिरहेको थियो।
‘म कहाँ आइपुगेँ?’ सडकको एक छेउमा थचक्क बसेर उनी रुन थालिन्। अरूले थाहा नपाऊन् भनेर हातले अनुहार छोपिन् र धुरुधुरु रोइन्। उनको लुगा पसिनाले निथ्रुक्क भिजेको थियो। थाकेर होला, काँधको झोला पनि निकै गह्रौँ लाग्यो। खुट्टा मात्र होइन, पूरै हातगोडा थाकेको महसुस भयो। उनले दाहिनेतिर एउटा कुनामा रूखको छहारी देखिन्। चर्को घामबाट जोगिँदै त्यहाँ पुगेर थचक्क बसिन्। उनको सास छिटोछिटो चलिरहेको थियो।
समुद्रको पहिलो झलक
वरिपरिको वातावरण अलि फरक थियो। हावामा एउटा छुट्टै बासना थियो। त्यो नुनिलो पानीको गन्ध थियो। त्यहाँ पुग्दा उनले चिसो र मीठो बतासको अनुभूति गरिन्। रूखको देब्रे कुनाबाट चिहाउँदा उनले खुला र अर्कै किसिमको हरियाली भएको ठाउँ देखिन्। केही पाइला चालिन्। अग्लो ठाउँमा उक्लिइन्। उनले अलि पर केही देखिन्। त्यहाँ पानीको ठूलो भण्डार थियो। उनको मनमा कौतूहल जाग्यो। केही मिनेट दौडिएपछि छर्लङ्ग भयो, त्यो त विशाल समुद्र रहेछ।
अस्ट्रेलियाको त्यो सामुद्रिक किनार थियो, ‘बोन्डाई बिच’। विश्वप्रसिद्ध त्यो समुद्री किनारमा विश्वभरका मानिस मनोरञ्जनका लागि पुग्छन्।
नीलो पानी अग्लो आकाशसँग जोडिएझैँ देखिन्थ्यो। समुद्र देखेपछि तमिनाको डर अलि कम भयो। समुद्रजस्तै उनको मन पनि शान्त भयो। उनले माकुरोलाई लगभग बिर्सिइन्। उनी पुगेको ठाउँमा सहरको कोलाहल टाढा थियो। पानीका लहरको मधुर आवाज सुनिन्थ्यो। जति नजिक पुग्यो, त्यति नै त्यो आवाज सङ्गीतजस्तै मीठो हुँदै गयो। तमिना बिस्तारै समुद्रतिर अघि बढिन्। मानौँ, यसअघिका सबै संसार हराए र नयाँ यात्रा अब यहीँबाट सुरु भयो।
बाटो बिराउनुको पीडा पनि तमिनाका लागि अब हरायो। मानौँ, जादुझैँ उनका अगाडि एउटा अद्भुत संसार आएर उभियो। नेपालमा खोलानाला र पोखरी देखेकी उनले पहिलोपटक त्यो विशाल समुद्र देख्दै थिइन्। अस्ट्रेलियाको त्यो सामुद्रिक किनार थियो, ‘बोन्डाई बिच’। विश्वप्रसिद्ध त्यो समुद्री किनारमा विश्वभरका मानिस मनोरञ्जनका लागि पुग्छन्।
डरपछि फर्किएको खुसी
त्यहाँ नीलो र शान्त पानी थियो। तमिनाका आँखामा चमक फर्कियो। उनले गहिरो सास फेरिन्। आफ्नो डरलाई पछाडि कतै छोडिदिइन्। नयाँ ठाउँ, नयाँ परिवेश। उनको यात्रा अब रोमाञ्चक बन्दै थियो। सयौँ मानिस ओहोरदोहोर गरिरहेको समुद्रको किनारमा उनले टाढासम्म फैलिएको बालुवामा पाइला राखिन्।
उनले आफूलाई निकै हल्का महसुस गरिन्। आकाशतिर आँखा उचालिन् र मन खोलेर मुस्कुराइन्।
चिसो हावाले उनको कपाल उडायो। समुद्रको पानीबाट आएको त्यो हावा मानौँ तमिनालाई खुसी बनाउनै बहेको होस्। उनले आफूलाई निकै हल्का महसुस गरिन्। आकाशतिर आँखा उचालिन् र मन खोलेर मुस्कुराइन्। डरपछिको पहिलो खुसी थियो त्यो, जुन निकै मीठो थियो। समुद्रले आफूलाई स्वागत गरेको आभास भयो उनलाई।
उनले आफ्नो झोला बालुवामा बिसाइन्। अनि अरू मानिसहरूझैँ समुद्रतर्फ अघि बढिन्।
(इटर्नल पब्लिकेसनबाट प्रकाशित यो बालकृति ढुंगानाको पहिलो बाल उपन्यास हो।)



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।