शिक्षा

८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्।

ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’ (The End of Everything) का लागि ५० हजार पाउन्ड राशिको पुरस्कार जितेका हुन्। सोमबार लन्डनमा आयोजित विशेष समारोहमा उनलाई पुरस्कार प्रदान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ।

विज्ञान कथा तथा काल्पनिक विधामा लेखन गर्दै आएका ह्यारिसनको पुरस्कृत उपन्यास विनाशपछिको संसारमा आधारित छ। रहस्यमय जीवहरूको आक्रमणपछि सामाजिक संरचना ध्वस्त भएको भविष्यको बेलायतको तटीय क्षेत्रको कथा उपन्यासमा समेटिएको छ।

विज्ञापन

ह्यारिसनका अनुसार सन् २००८ को विश्वव्यापी आर्थिक संकटबाट प्रभावित भएर उनले उपन्यासको कथा तयार पारेका थिए।

पुरस्कार ग्रहण गर्दै उनले बुकर पुरस्कार जित्ने अपेक्षा आफूले नगरेको प्रतिक्रिया दिएका थिए। ‘तपाईंहरू जीवन परिवर्तन भएको कुरा सहजै भन्नुहुन्छ, तर वास्तवमै यस्तो हुँदा अनौठो लाग्दो रहेछ। अन्ततः आफूलाई एक वास्तविक लेखक महसुस गरिरहेको छु, यद्यपि ममा अझै आत्मविश्वासको कमी छ,’ उनले भने।

यस वर्षको निर्णायक समितिको नेतृत्व इतिहासकार मेरी बियर्डले गरेकी थिइन्। समितिमा लेखक रेमन्ड एन्ट्रोबस, प्याट्रिसिया लकवुड, समालोचक रेबेका लिउ तथा संगीतकार जार्भिस ककर सदस्य थिए।

निर्णायक समितिले १६३ पुस्तकबाट छनोट गरिएका अन्तिम छ प्रतिस्पर्धीमध्ये ह्यारिसनको उपन्यासलाई सर्वसम्मत रूपमा विजेता घोषणा गरेको हो।

समिति अध्यक्ष बियर्डले ह्यारिसनको उपन्यासले वर्तमान समयको राजनीतिलाई भविष्यको दृष्टिकोणबाट प्रस्तुत गरेको भन्दै प्रशंसा गरेकी छन्। उनका अनुसार विनाशकारी परिस्थिति आइपर्दा त्यसलाई बुझ्नसमेत कठिन हुन सक्छ र त्यस्तो अवस्थामा पुराना सामाजिक नियमहरू अर्थहीन बन्न सक्छन्।

यस वर्षको अन्तिम प्रतिस्पर्धामा जमैकाका मार्लोन जेम्सको ‘द डिसएपियर्स’, स्कटल्यान्डका डगलस स्टुअर्टको ‘जोन अफ जोन’, अमेरिकी लेखिका एलिजाबेथ स्ट्राउटको ‘द थिङ्स वी नेभर से’, लुक केनार्डको ‘ब्ल्याक ब्याग’ र रेबेका पेरीको ‘मे वी फिड द किङ’ पनि थिए।

के हो बुकर पुरस्कार?

सन् १९६९ देखि प्रदान गर्न थालिएको बुकर पुरस्कार अंग्रेजी भाषामा लेखिएका साहित्यिक कृतिमध्ये विश्वकै प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ। सन् २०१४ देखि बेलायत वा आयरल्यान्डमा प्रकाशित अंग्रेजी भाषाका साहित्यिक कृतिका लागि लेखकको राष्ट्रियता नहेरी प्रतिस्पर्धामा सहभागी गराउने व्यवस्था गरिएको छ।

यसअघि सन् २०१९ मा ७९ वर्षको उमेरमा मार्गरेट एटवुडले बुकर पुरस्कार जितेकी थिइन्। ह्यारिसनले यसपटक उनको कीर्तिमान उछिन्दै पुरस्कारको इतिहासमा सबैभन्दा पाका विजेताको स्थान बनाएका छन्।

करिब छ दशकदेखि साहित्य लेखनमा सक्रिय ह्यारिसनका १३ वटा उपन्यास प्रकाशित छन्। यसअघि सन् २००७ मा उनको उपन्यास ‘नोभा स्विङ’ ले आर्थर सी क्लार्क पुरस्कारसमेत जितेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

शिक्षा बाट थप

थप — शिक्षा

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।